चितवनमा निषेधाज्ञामा पनि निरन्तर रक्तदान, रगत अभावमा गुमाउनु पर्दैन ज्यान

अस्मिता पराजुली,

चितवन – कोभिड १९ कारण चितवनमा तीनहप्ता देखि निषेधाज्ञा जारी गरिएपनि रगतको अभाव भएको पाईएको छैन । कोभिडका बिरामीले अस्पताल भरिएपनि शल्यक्रिया लगायत अन्य जटिल बिरामी कम भएका कारण पनि रगतको सन्तुलन कायम भएको हो ।

चितवनमा अहिले निषेधाज्ञा जारी गरिए पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिइएको छ ।हाल कोरोना संक्रमणका कारण अन्य समयमा जस्तो बिरामीहरुको चाप अस्पताल नभएको हुँदा रगतको अभाव नदेखिएको अस्पतालहरुले बताएका छन् ।

चितवनकै व्यस्त अस्पतालमध्ये पर्ने भरतपुर अस्पतालमा अहिले आकस्मिक सेवा मात्रै खुल्ला गरिएको छ । मुख्यतया शल्यक्रिया गर्ने बिरामीलाई रगत आवश्यक पर्ने गर्दछ । अस्पतालले अहिले जटिल तथा आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीलाई मात्र सेवा दिंदै आएको छ ।

तत्काल शल्यक्रिया गर्नुनपर्ने अन्य रोगका बिरामीको शल्यक्रिया नगरिएको र हाल अस्पातलमा त्यस्ता बिरामी कम आउने गरेका कारण रगतमा अभाव नदेखिएको भरतपुर अस्पतालका प्रवक्ता डाक्टर युवानिधी बसौलाले बताए ।

Forbes

‘अस्पतालमा अहिले कोरोनाकै बिरामी बढी छन् । कोरोनाका बिरामीलाई खासै रगतको आवश्यक पर्दैन अन्य रोगका बिरामीहरुको चाप पनि छैन । त्यसैले रगतको अभाव छैन ।’डाक्टर बसौलाले भने ।

कोरोना संक्रमणको जोखिमका कारण कतिपय बिरामीहरु अस्पताल नगएका कारण पनि रगतको अभाव नदेखिएको हो । जिल्लाका सरकारी अस्पताल संँगै अन्य नीजि अस्पतालहरुमा पनि हाल रगतको अभाव देखिएको छैन ।

पुरानो मेडिकल कलेजमा इमेर्जेन्सीका बिरामी, सडक दुर्घटना सम्बन्धीका बिरामी र अन्य रोगका बिरामी अस्पतालमा कम छन् । ‘अन्य समयमा दैनिक २० देखी २५ वटा अप्रेसन हुन्थ्यो अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले भने, औसत अहिले ५ – ७ वटा मात्रै अप्रेशन भएको छ । रगत नपाएर उपचार नपाउने भन्ने अवस्था नरहेको र कहिलेकांँही अभाव हुन गए विरामीहरुको आफन्त बाट व्यवस्थापन हुने गरेको न्यौपानेले बताए ।

बिशेषगरी क्यान्सरका बिरामीलाई नियमित र बढी रगतको आवश्यकता पर्दछ । देशकै नमुना अस्पताल मध्ये पर्ने भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि हाल रगतको अभाव झेल्नु परेको छैन ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातल भरतपुरमा भारत लगाएत देशका धेरै ठाउँका बिरामीहरु आउने गर्दछन् । निषेधाज्ञाका कारण औषत दैनिक २० देखि २५ जना बिरामीको शल्यक्रिया हुने गरेकोमा हाल औषत ७ देखि ८वटा शल्यक्रिया हुने गरेको छ । ब्लड क्यान्सरका बिरामीको संख्या कम भएपछी क्यान्सर अस्पतालमा पनि रगतको समस्या नदेखिएको अस्पतालका उपनिर्देशक कृष्ण सागर शर्माले बताए ।

‘अहिलेसम्म त रगतको अभावले बिरामीलाई रोक्नुपरेको छैन । डाक्टर शर्माले भने,जटिल अवस्थामा भए पनि रगत पाइराखिएको छ ।’ अस्पतालमा हाल इमेर्जेन्सीका बिरामी कम आउने भएकोले रगतको समस्या नपरेको उनले बताए ।अहिले सम्म रगतको अभाव नभए पनि अस्पतालमा बिरामीको संख्या बढ्दै गएमा रगतको समस्या हुने उनको भनाई छ ।

जिल्लामा रगतको अभाव हुन नदिन रक्त सञ्चार केन्द्रले पनि रक्तदातालाई प्रोत्साहित गर्दै आएका छन् । कतिपय सामाजिक संस्थाले पनि रगत संकलन कार्यलाई नियमित गर्दै आएका छन् । जसले गर्दा पनि रगत अभाव हुन पाएको छैन ।

क्षेत्रिय रक्त संचार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले निशेधाज्ञा भएपनि जिल्लामा रगतको अभाव नभएको बताए । ‘निषेधाज्ञा पछी एक हप्ता रगतको अभाव देखिएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले रक्तसंचार केन्द्रलाई रक्तदान गर्न पाउने छुट दिएपछि अभाव कम हुन थाल्यो ।’पौडेलले भने ।

अन्य समयमा जिल्ला बाहिर गएर रगत संकलन गर्दै आएपनि अहिले भरतपुर महानगरपालिकाको रक्त संचार बस प्रयोग गरी जिल्ला भित्रका भिभिन्न ठाउँ चोक टोल टोलमा पुगेर रगत संकलन गरिएकोले पनि अभाव नभएको पौडेलको भनाई छ ।अस्पतालहरुमा बिरामीको चाप कम भएको र रगतको माग पनि कम भएकाले माग अनुसार रगत उपलब्ध गराउन सकिएको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु