गर्मी सुरु भएसँगै चितवनमा ज्वरो र रुघाखोकीका बिरामी बढे

चितवन – चितवनसहित देशभर गर्मी बढ्दैछ। बढ्दो गर्मीसँगै विभिन्न संक्रामक रोगहरुको जोखिम पनि बढ्ने गर्छ। गर्मी मौसममा विशेषगरी, ज्वरो , रुघाखोकी, झाडापखाला, जण्डिस, मलेरिया, टाइफाइड, छालासम्बन्धी लगायत संक्रामक रोगको जोखिम बढी हुने गर्दछ ।

चितवनमा केही दिन यता बढेको गर्मीका कारण ज्वरो र रुघाखोकिका बिरामीको संख्या बढेको छ । अन्य समयमा दैनिक २०० देखि ३०० ज्वरो र रुघाखोकीका बिरामी अस्पताल आउने गरेकोमा पछिल्लो समय दैनिक ४०० हाराहारीमा बिरामी उपचारको लागि अस्पताल आउने गरेको भरतपुर अस्पतालका सुचना अधिकारी जगनाथ तिवारीले बताए ।

मौसम परिवर्तन भएसँगै अस्पताल आउने भाइरल ज्वरो र रुघाखोकीका बिरामीको दर केही दिनयता बढेको उनको भनाइ छ । त्यसमा पनि बालबालिका र वृद्धवृद्धाको संख्या धेरै छ । कोरोना संक्रमित र मौसमी बिरामीको संख्या बढ्दै गएको उनले बताए ।

“अहिले एकातर्फ कोरोना संक्रमणका बिरामी र अर्को तर्फ मौसमी बिरामीको संख्या बढ्दै गएका छन्, उनले भने, बर्षेनी गर्मिको समयमा अन्य समयमा भन्दा बिरामीको सख्या बढ्ने गर्छ नै तर अहिले वायु प्रदुषणका कारणले पनि बिरामी बढेका हुन्।” मलेरिया, टाइफाइड, झाडापखालाका बिरामी कम भएपनी अहिले ज्वरो र रुघाखोकीका बिरामी भने बढेका उनले बताए । गर्मी बढदै जादा अन्य रोगका बिरामीहरु बढदै जान सक्ने जोखिम रहेको उनको भनाइ छ ।

अस्पातलमा कोरोना र अन्य बिरामीको संख्या बढ्दै जाँदा बेडको समस्या देखिएको छ । कोरोनाका बिरामीलाई प्राथमिकता दिनु पर्ने भएकाले अन्य बेडलाई घटाउदै कोरोनाका बिरामीलाई राखिदै छ । “कोरोनाका बिरामीलाई प्राथमिकता दिएका छौं, अन्य बिरामीलाई अन्यत्र पठाएका भने छैनौं उनले भने, भएका बेडको व्यवस्था गरेका छौं, केही बेड थप्ने तयारी पनि छ ।”

Forbes

तर बिरामी बढ्दै गए अस्पतालमा बेडको अभाव हुने र बिरामीलाई अन्य अस्पताल पठाउन पर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । भरतपुर अस्पतालमा अहिले ओपिडिमा दैनिक करिब १२ सय बिरामी उपचारका लागि आउने गरेका छन् भने अन्य समयमा करिब ८ सय बिरामी आउने गरेका थिए ।

गर्मी मौसमा भाइरस इन्फेक्सन हुने हुँदा सरुवा रोग, रुघाखोकी ज्वोरोका बिरामी बढेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बताए । उनले गर्मी मौसम भर्खर सुरु हुँदै गरेकाले रुघाखोकी रोगको जोखिम बढ्ने भन्दै सचेत रहन सबैलाई आग्रह गरे ।

कोरोनाका संक्रमणका बिरामीसँगै मौसमी परिवर्तनका बिरामी बढीरहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, प्रसस्त पानी पिउन, धुवा धुलोबाट टाढा रहन , खानपिनमा ध्यान दिन घर वरिपरी सफा राख्न उनको आग्रह छ ।

गर्मीमा लामखुट्टेको टोकाईबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सचेतनामुलक कार्यक्रमहरु गर्ने तयारी रहेको उनले बताए । यसका लागि जिल्लाका सबै पालिकासँग समन्वय भएको उनको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु