अस्मिता पराजुली,
चितवन – चितवनका विभिन्न वनमा डढेलोको घटना नियन्त्रणमा समस्या देखिएको छ। जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा फागुन महिनाको अन्तिमबाट लाग्न थालेको डढेलो समयमै नियन्त्रणमा आउन नसक्दा यहाँको जनजीवन प्रभावित भएको हो।
अहिले चितवनका करिब १५ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताए ।जिल्लाको भरतपुर महानगरपालिकाका वडा नम्बर १ रामनगर वन क्षेत्र, वडा नम्बर ११ भोजाड नव जागृतिक वन क्षेत्र, पूर्वी चितवन शक्तिखोर वन क्षेत्र, ईच्छाकामना गाउँपालिका वडा नम्बर ३, ४ र ७ का कुरिन्टार, फिस्लिङ, रानीखोला, कालिका पिपल टार क्षेत्र, नारायणगढ–मुग्लिन सडकसँग जोडिएको वन लगाएतका स्थान डढेलो प्रभावित भएको उनले बताए ।
सूचना अधिकारी खनालका अनुसार विशेष गरी हरेक बर्ष फागुनदेखि बैशाखसम्म यी क्षेत्रमा आगलागी हुने गरेको छ । गत वर्ष करिब ५ देखि ६ सय हेक्टर क्षेत्रफलमा मात्रै डढेलो लागेको थियो । तर चालु आर्थिक वर्षको चैतको दोस्रो हप्ताभित्र नै करीब १५ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । चितवनमा ९३ वटा सामुदायिक वन करीब २२ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस्तै ४३२ वटा कृषकलाई घास दाउराको लागि छुुट्याईएको वनले १५ सय हेक्टर क्षेत्रफल ओगटेको छ ।
उनले भने, “अघिल्ला वर्षहरुमा हिउँदको समयमा सुरुवातमै पानी परेका कारण आगलागी र डढेलो लागिहाले पनि छिट्टै नियन्त्रणमा आएको थियो ।” “यस वर्ष हिउँदको वर्षा नभएको कारण डढेलो समयमा नियन्त्रणमा आउन नसकेको हो ।” हिउँद तथा सुख्खा मौसम भएका कारण डढेलोको जोखिम यस वर्ष वृद्धि हुन सक्ने सम्भावना रहेको बताउदै उनले वनमा लागेको आगोलागीबाट मानविय क्षती भने नभएको बताए ।
डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयको संयोजकत्वमा जिल्ला स्तरीयर सञ्जाल समेत गठन गरिएको छ । आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय, शसस्त्र प्रहरी बल नेपाल नं. ३ बाहिनी गढिमाई भण्डारा, कालि बहादुर गण भरतपुर, नम्बर २ विपद व्यबस्थापन गण रसौली, सिंहनाथ गण(कमाण्डो) शक्तिखोर, शसस्त्र प्रहरी बल नेपाल नं. १७ आँपटारी, सामुदायिक वन, डिविजन वन कार्यालय लगाएका ८ वटा समिती गठन गरी नियन्त्रका प्रयास भइरहेको छ । वन डढेलो नियन्त्रणका लागि स्थानीय तह तथा अन्य सुरक्षा निकायहरुसँग रहेका अग्नी निरोधक सामाग्री तथा दमकलहरुलाई तयारी अबस्थामा राखिएको समेत उनले बताए ।
जङ्गल क्षेत्रमा लाग्ने डढेलोका घटना प्राकृतिक कारण न्यून र मानवीय लापरवाही तथा त्रुटिका कारण बढी भएकाले आगलागी र डढेलेको घटनामा नियन्त्रणका लागि वन उपभोक्ता तथा स्थानीयवासी आफैँ सचेत हुनुपर्ने उनको भनाई छ । ‘कतिपय सामुदायिक वनमा प्राकृतिक कारण र मानविय त्रुटिका कारण आगो लाग्ने गर्छ।” कसैले जानीजानी आगजनी लगाउछन् भने धुम्रपान पश्चात् आगोको ठुटो जथाभावी फाल्ने, वन्यजन्तुको शिकार गर्न तथा वनमा आगो लगाएपछि राम्रो घाँस पलाउने लगायतका स्वार्थ राखेर जङ्गल क्षेत्रमा आगजनी गर्ने गर्दा डढेलो लाग्ने गरेको छ’ उनले भने ।
वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुवाँले ढाक्दा आँखा पोल्ने समस्यासमेत देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले यस्तो मौसम र धुवाँका कारण आँखा पोल्ने, एलर्जी हुने, श्वासप्रश्वासमा समस्या देखिने बताए । यसबाट बच्चा र जेष्ठ नागरिक जोगिन पर्ने तिवारीले बताए ।
दम जस्ता रोगलाई श्वासप्रश्वासका समस्या थप बल्झाउने काम गर्ने भएका कारण बच्चा र जेष्ठ नागरिक सकेसम्म घर बाहिर नजाने, जानै परे शरीर ढाक्ने कपडा लगाउने, मास्क लगाउने, बाहिरबाट घर पुगेपछि साबुन पानीले हात धुने जस्ता उपाय अपनाउन सकिने उनले बताए ।
त्यस्तै मौसम खराबिका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य दुवै उडान प्रभावित भएका छन् । प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको हुँदा मौसम केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् ।
फाईल तस्विर


