अस्मिता पराजुली,
चितवन – चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या ह्वातै घटेको छ । चालु आर्थिक बर्ष २०७७ – ७८ को ६ महिनाको अवधिमा २५ हजार ४ सय ७४ जना पर्यटकले मात्रै निकुञ्जको अवलोकन गरेका छन् ।उनिहरुमध्य १५ हजार २ सय ४२ जना पुरुष र १० हजार २ सय ३२ जना महिला हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्जको अवलोकन गर्नेमा २४ हजार ६ सय ७३ जना नेपाली, ४ सय ८५ जना सार्क मुलुकका र ३१६ जना विदेशी रहेका छन्
गत आर्थिक वर्ष २०७६ – ७७ मा १ लाख ८२ हजार ४ सय ३५ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका थिए । जसमा ८९ हजार ४ सय ४१ नेपाली, ७८ हजार ७ सय ५५ जना बिदेशी र १४ हजार २ सय ३९ जना सार्कका रहेका थिए ।
निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अघिल्लो बर्षको तुलनामा चालु आर्थिक बर्षमा निकुन्ज घुम्न आउने पर्यटकको संख्यामा निकै कमी आएको छ ।
कोरोना भाईरस संक्रमणका कारण निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा कमी आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । कोरोना भाईरसको प्रकोपको कारण चालु आर्थिक बर्षको कात्तिकबाट मात्रै पर्यटक आउन थालेको उनले बताए ।
उनले कोरोना भाईरसको उच्च जोखिमको समयमा बाह्य तथा आन्तरिक उडान सबै बन्द हुँदा स्वदेशी तथा बिदेशी पर्यटकको आगमन कम भएको बताए। उनले भने, “अब कोरोनाको खोप आएसँगै नेपालीले नि लगाउन थाले यसले पर्यटकको आगमन होला भन्ने आशा गरेका छौ ।” निकुन्जमा पर्यटकहरु मुख्य एक सिङे गैंडा,पाटे बाघ,ताल तलैया, सिमसार, जङल सफारी, प्राकृतिक विविधता लगाएत विभिन्न प्रजातीहरुका चरा बन्यजन्तु हेर्न आउने गर्दछन् ।
राजस्व संकलनमा पनि कमी
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन कम भएसँगै राजस्व संकलनमा कमी आएको छ । चालु आवको ६ महिनाको अवधिमा १ करोड २१ लाख ३५ हजार ८ सय ८ रुपैयाँ राजस्व संकलन भएको छ ।
चालु आवमा पर्यटकबाट ९० लाख ३१ हजार ९ सय ८६ रुपैया राजस्व संकलन भएको छ । त्यस्तै गैरकास्ठ पैदावर विक्रीबाट १५ लाख १३ हजार ८ सय ३७ रुपैया, द्ण्ड सजायबाट ९ लाख ९७ हजार ५ सय १५ रुपैया र अन्य पर्यटन गाइड नबिकरण, दर्ता लगाएतबाट ५ लाख ९२ हजार ४ सय ७० राजस्व संकलन भएको हो ।
निकुन्जले अघिल्लो आर्थिक बर्षमा भने १९ करोड ९२ लाख ५५ हजार ६ सय ८१ रुपैया राजस्व संकलन गरेको थियो । त्यसमा पर्यटकबाट मात्रै १८ करोड ७३ लाख ८५ हजार ६४ रुपैया संकलन भएको थियो । निकुन्जमा ९० प्रतिशत राजस्व पर्यटकबाट उठ्ने गरेको छ ।
फाईल तस्विर


