काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आज मंगलबार केन्द्रीय समितिको बैठक बोलाएका छन्। दुवै पक्षले फरक–फरक स्थानमा बैठक बोलाएका हुन्।
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले बालुवाटारमा बैठक बोलाएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहले कार्की बेङ्क्वेटमा बैठक बोलाएको छ। आजको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षले जनाएको छ। यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै यसलाई केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो।

