बालगायक सिलवालको ‘ट्राफिक हाम्रै साथी’

एटुजेड समाचार

काठमाडौँ –  बालगायक प्रिन्स सिलवालको श्रव्य–दृष्यसहितको नयाँ गीत ‘ट्राफिक हाम्रै साथी’ आज काठमाडौँमा सार्वजनिक भएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले गीत सार्वजनकि गर्दै जनमानसमा ट्राफिक सन्देश दिन गीतले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सडकमा जे जरुरी छ, त्यो कुरा गीतमा प्रकाश झै छर्लङ्ग छ”, महाशाखा प्रमुख ढकालले भने, “अब ट्राफिक सचेतना जगाउन यस्तै गीतसङ्गीत र डिजिटल प्रविधि प्रयोगको विकल्प छैन ।”

उक्त गीत काठमाडौँको माइतीघर, बानेश्वर, शङ्मूल, पुतली सडकलगायत विभिन्न क्षेत्रमा छायाङ्न गरिएको थियो । मुलतः गीतमा ट्राफिक सचेतनाका लागि बालबालिका स्वयंसेवी भएर प्रस्तुत भएका छन् । बालबालिकाको अभिनयमा नियम उल्लङ्घन गरेर सवारी साधन चलाउने, मापसे गरेर सवारी चलाउनेलाई सुझाव दिँदै ट्राफिक नियम पालनामा प्रेरित गरेको देख्न सकिन्छ । उक्त गीतमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकाल र प्रहरी निरीक्षक दामोदर भट्टको सन्देशमूलक प्रस्तुति समेत समावेश गरिएको छ ।

उक्त समारोहमा गीतका निर्देशक रमेश पाठकले मुख्य गरी जेब्रा क्रसिङबाट उपयुक्त समयमा बाटो काट्न, मापसे गरेर गाडी नचलाउन, ट्राफिक बत्ती हेरेर बाटो काट्न र गाडी चलाउन तथा सकेसम्म आकासेपुलबाट हिँड्न गीतले अनुरोध गरेको जानकारी दिए । उनले ट्राफिकसँग सहकार्य गर्दा गीतले भने झैँ वास्तवमै ट्राफिक आफ्नै साथी जस्तै पाएको प्रतिक्रिया दिए । गीतमा नागरिकले ट्राफिक प्रहरीलाई आफ्नै साथी र सहयोगीका रुपमा हेर्नुपर्नेमा जोड दिएको छ ।

प्रेम घिमिरेको सङ्गीत र नवीनबाबु गुरुङको छायाङ्न रहेको गीतमा गायक सिलवालसहित बाल कलाकार आर्यान पौडेल, संहिता सिलवाल, उत्कृष्टा थपलिया, सम्पन्न सिलवाल, मिराज ढकाल, पार्शव भट्ट, युमिसा लामिछाने र शशि गुरुङको अभिनय छ । अतिथि कलाकारमा कृष्ण रसाल, नवीना केसी, सरिता भुजेल, सौरभ फुँयाल र सुजन घिमिरे छन् ।

गीतमा प्रेम घिमिरेको संगित र दिनेश न्यौपानेको संगित संयोजन रहेको छ । गत वर्ष दशैँका अवसरमा गायक सिलवालले अभिनेता सरोज खनालसँग अभिनय रहेको श्रव्यदृष्यसहितको गीत ‘बाबा’ बजारमा ल्याएका थिए । त्यसअघि उनले ‘माया लाग्छ नेपालको’, ‘दशैँ मनाउने हो’, ‘न मानामा नापिन्छ माया’ बोलको गीत बजारमा ल्याईसकेका छन् ।

 

 

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू