पोखरा – गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बिभिन्न ४ जिल्लामा गरी थप ३७ जनामा कोरोना पुष्टि भएको हो ।
स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित भेटिएको निर्देशनालयले जनाएको छ । स्याङ्जाको गल्याङ नगरपालिकामा मात्रै १८ जना संक्रमण देखिएको हो । उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन् ।


स्याङ्जाकै वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्जाकै स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतको कुश्मा नगरपालिकामा ८, पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एकजना संक्रमित फेला परेका छन् । पर्वतकै अर्का एक जना संक्रमितको पनि स्थानीय तह खुलेको छैन ।
तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक–एक जना युवक पनि कोरोना देखिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ जनाएको छ ।