चितवन – एटुजेड समाचार डटकमले संस्थामा आबद्द पत्रकार तथा संचारकर्मीहरुको कोरोना बीमा गराएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै गएसँगै एटुजेड समाचारले संस्थामा आबद्द पत्रकार तथा संचारकर्मीहरुको बीमा गराएको हो।
एटुजेड समाचारले आबद्द पत्रकार तथा संचारकर्मीहरुको जनही एक लाखको बीमा गराएको हो । जोखिमकाबीच पनि कार्यक्षेत्रमा खटिएका आफ्ना पत्रकार तथा संचारकर्मीहरुलाई हौसला प्रदान गर्नका लागि कोरोन बीमा गराईएको संस्थाका अध्यक्ष किशोर चन्द्र सापकोटाले बताउनुभयो ।



विपत्तीको समयमा पनि अग्रपंत्तीमा रहेर समाचार संकलन तथा प्रकाशनमा खटिने पत्रकारहरुको लागि बीमा योजना आवश्यक रहेको उहाँको भनाई थियो । यसले कठिन परिस्थितीमा पनि कार्यक्षेत्रमा खटिने पत्रकारहरुलाई हौसला मिल्ने उहाँको विश्वास छ । कोरोना भाइरस देखिए लगत्तै उक्त बीमा रकम प्राप्त गर्ने हुँदा यसले पत्रकार तथा संचारकर्मीहरुलाई आर्थिक टेवा पुग्ने उहाँले बताउनुभयो ।
उहाँले संस्था सत्य तथ्य समाचार सम्प्रेषण गर्नका लागि सधैं प्रतिबद्द रहेको बताउदै समाजमा कोरोनाले त्रास फैलाइरहेको अवस्थामा सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न सम्पूर्ण संचारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।
विपत्तीको समयमा पनि जनतालाई सुसुचित गराउने पत्रकार तथा संचारकर्मीप्रती राज्य थप जिम्मेवार हुनु पर्ने उहाँले बताउनुभयो । यस्तै उहाँले पत्रकार तथा संचारकर्मीहरुलाई राज्यले सुरक्षा सामाग्री उपलब्ध गराउने तथा कोरोना परीक्षणको व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो ।