गरिसा (केन्या)- विश्वमा केबल ३ वटाको संख्यामा रहेका सेता प्रजातिका जिराफमध्ये शिकारीले दुई जिराफ मारिदिएका छन् ।
शिकारीले मारेका दुई सेता जिराफको कंकाल केन्याको गरिसा शहरनजिक फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीनमध्ये अब एक भाले सेतो जिराफमात्र अस्तित्वमा छ ।
मारिएका जिराफहरु यसअघि तीन महिनाअघि मात्र देखा परेको स्थानीय इशाकबिनी हिरोला आरक्षले जनाएको छ । जिराफ मार्नेहरुको पहिचान र उनीहरुको उद्देश्यबारे केही स्पष्ट नभइसकेको जनाइएको छ ।
सेतो प्रजातिका जिराफ केन्यामा मात्र पाइन्छन् । केन्याली अधिकारीले जिराफ मारिएको घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । सन् २०१७ मा जिराफका तस्बीर सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चित भएका थिए ।