चितवनमा भोलीबाट एसिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन
चितवन, कार्तिक २ – चितवनमा भोली (आइतबार)बाट एसिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुर चितवनको मूल आयोजना, इन्टरनेशनल गोट एशोसिएशन अमेरिकासंगको सहकार्य तथा नेपाल सरकार पशुपन्छी बिकास मन्त्रालय, पशु सेवा बिभाग, हेफर इन्टरनेशनल नेपाल, नेपाल कृषि अनुसन्धान परिषद, विश्वविद्यालय अनुदान आयोग, मिचिगन स्टेट यूनिभर्सिटी अमेरिका र भारतीय कृषि अनुसन्धान परिषद अन्तर्गत केन्द्रीय बाख्रा अनुसन्धान संस्थानको सह–आयोजनामा सम्मेलन हुन लागेको हो ।
सम्मेलन मुल आयोजक समितिका अध्यक्ष प्रा.डा. शारदा थपलियाका अनुसार विकासशील विश्वमा खाध्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन भन्ने मूल नाराका साथ हुन गईरहेको सम्मेलनमा १५ देशका वाख्रा अनुसन्धान र विकासमा विशिष्ट योगदान पु¥याएका वैज्ञानीक, अनुसन्धान दाता, उद्यमी र विद्यार्थीहरुको सहभागिता रहने छ । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, क्यूवा, संयुक्त राज्य अमेरिका, क्यानाडा, इटाली, जापान, हंगेरी, चीन, इन्डोनेसिया, बंगलादेश, फ्रान्स, केन्या, दक्षिण अफ्रीका, अष्ट्रेलिया र स्पेनका प्रतिनिधिहरु सहभागी हुने थपलियाले जानकारी दिईन् ।
सम्मेलनमा खाद्य तथा पोषणको श्रोत, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य शृंखला विकास, बाख्राको आहारा, पोषण तथा वासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन तथा जैविक प्रविधि व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधि बिकाश सम्बन्धी विधाहरुलाई समेटेर ३ वटा बिशेषज्ञ कार्यपत्र, ११ वटा आमन्त्रित, ६० बढी मौखिक र ४२ बढी पोस्टरहरु गरि १ सय १६ भन्दा बढी बैज्ञानिक कार्यपत्रहरु प्रस्तूत हुनेछन् ।
कार्यपत्र प्रस्तुतिका वाहेक सम्मेलनमा बाख्रापालन व्यवसायको बिश्वब्यापी चुनौतिको रुपमा रहेको पि.पि.आर. रोग र त्यसको नियन्त्रण, बाख्रापालन र भ्याक्सिन व्यवसायमा महिला सहभागिता जस्ता विभिन्न जल्दाबल्दा समसामयिक बिषयहरुमा विभिन्न देशका विज्ञहरुबीच सामुहीक छलफल हुने सम्मेलन मुल आयोजक समितिका सदस्य सचिव डा. निराजन भट्टराईले जानकारी दिए ।
यस सम्मेलनले बाख्रापालन जस्तो अति महत्वपूर्ण क्षेत्रमा यसको उत्पादन, उत्पादकत्व एवं गुणस्तर वृद्धिको लागि विविध प्रविधियुक्त आधुनिक खोजमुलक जानकारीको सम्प्रेषण गर्ने उद्धेश्य लिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा यस क्षेत्रमा कार्यरत बैज्ञानिक, अनुसन्धान निकायहरु, विश्वविद्यालयहरु एवं सरकारी र गैह्र सरकारी संघ संस्थाहरुको बिचमा बृहत संजाल र सहकार्यको बिस्तार गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाइ भविष्यमा बैज्ञानिक बाख्रापालनको एउटा नमुना राष्ट्रिय अनुसन्धान तथा श्रोत केन्द्र बनाउने दिर्घकालिन उद्धेश्य समेत सम्मेलनको भएको भट्टराईको भनाई छ ।
सम्मेलनमा पशु सेवा बिभागक महानिर्देशक डा वंशी शर्मा, इन्टर्नेशनल गोट एशोसिएसनका अध्यक्ष डा. बेथ मिलर, कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्टार तथा सम्मेलनका संरक्षक प्रा डा मनराज कोलाक्षपती र प्रदेश १ कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा बिमल कुमार निर्मलले बिशेष कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै सिमान्तकृत कृषकहरुको उन्नतीको लागि बाख्रामा आधारित जनजिविका सुधार कार्यक्रम, पशुपंक्षीको भ्याक्सिन व्यवसाय र सुचनामा महिलाको पहुच जस्ता बिषयमा पनि छलफल हुए बताईएको छ ।
सम्मेलनमा अमेरिकाबाट इन्टर्नेशनल गोट एशोसिएसनका अध्यक्ष डा. बेथ मिलर, उपाध्यक्ष लुसिया सेपे, आगामी वर्ष हंगेरीमा सम्पन्न हुने अन्तराष्ट्रिय बाख्रा विज्ञहरुको सम्मेलन २०२० आयोजक समितिका अध्यक्ष डा. सान्डोर कुकोभिक्स, चीनको हेबेई कृषि बिश्वबिद्यालय, पशु बिज्ञान तथा प्रबिधि कलेजका डीन प्रा. डा. यिङ्गजी झाङ्ग, जापानस्थित मिजो विश्वविद्यालयका प्रा.डा. योशिहाकी हायासी लगायत विश्वका ख्यातिप्राप्त शैक्षिक तथा अनुसन्धान प्रतिष्ठानका बिशिष्ट बैज्ञानिक, प्राज्ञ र बिध्यार्थीहरु सहित ३०० जनाको सहभागिता रहनेछ ।सम्मेलनको आवश्यक सम्पूर्ण तयारी पुरा भएको भट्टराईले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया