मायाको संसार सजाउने सपना बोकेर विदेशिएकाहरुको कथामा ‘परानी’
चितवन – लामो समयदेखि सांगितिक क्षेत्रमा सक्रिय जिवी सुनारले नयाँ मार्मिक गीत बजारमा ल्याएका छन् । उनले आफ्नै युट्युब च्यानल मार्फत शुक्रबार ‘परानी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक मर्मस्पर्शी गीतमा सुनारको आवाज छ । उनको आफ्नै शब्द रहेको गीतमा संगीत पनि उनले नै भरेका हुन् । गीतको एरेन्जर महेश बिक्रम पाण्डे हुन् ।
गीतमा परिवार र मायाको संसार सजाउने सुन्दर सपना बोकेर विदेशिएकाहरुको कथा उठाईएको छ । विदेशी भूमिमा पसिना बगाएर सुन्दर संसार बसाउने सपना बोकी गाउँघर फर्किदा भाताभुङ्ग हुँदाको कथालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
गीतको भिडियोलाई सुनार आँफैले निर्देशन गरेका हुन् । जसमा लिल हमाल, अन्जना सुनार, हरिबहादुर घिमिरे, सुमन परियार, दीपेन्द्र सुनारलगायतको अभिनय छ । सन्तोष सुनारले छाँयाकन तथा सम्पादन गरेको भिडियो चितवनमा नै खिचिएको हो ।
दश वर्षदेखि सांगितिक क्षेत्रमा सक्रिय सुनारले पछिल्लो समय पृथक सृजनाहरु बजारमा ल्याएका छन् । सोही मध्य ‘चौतारीमा बरको छायाँ’ बोलको गीत स्टार म्युजिक भिडियो अवार्डको मनोनयनमा परेको छ ।
ग्रेट नटराज फिल्म्सको आयोजनामा हुने अवार्डमा उक्त गीत दुई छुट्टाछुट्टै विधामा मनोनयनमा परेको छ । गीत उत्कृष्ट शब्द र लय गरी दुई विधामा मनोनयनमा परेको हो । उक्त अवार्ड यही २८ गते हुँदैछ ।
उनले छिट्टै तीजका गीतहरु पनि सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । सुनार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका सचिव समेत हुन् ।
तपाइँको प्रतिक्रिया