एपीएफ बन्यो प्रधानमन्त्री महिला टी–२० च्याम्पियन
महेन्द्रनगर, असार ११ बिभागीय टोली शशस्त्र प्रहरीको विभागीय टिम एपीएफ क्लब प्रधानमन्त्री महिला टी–२० क्रिकेट प्रतियोगिता च्याम्पियन बनेको छ । बुधवार महेन्द्रनगरमा सम्पन्न उपाधी भिडन्तमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
सुदूरपश्चिमले दिएको ७२ रनको सामान्य चुनौती एपीएफले १४ ओभरमा मात्र चार विकेट गुमाउदै पुरा गर्यो । एपीएफको जितमा इन्दु वर्माले २२ तथा सीता रानामगर १८ रन बनाईन् । यस्तै ज्योती पाण्डेले १७ रनको योगदान गरिन् । सुदूरपश्चिमकी कप्तान जानकी भट्टले दुई विकेट लिए पनि हार टार्न सकिनन् ।
त्यस अघी हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ७१ रनको सामान्य स्कोर खडा गरेको थियो । सुदुरपश्चिमका लागि रुवी पौदारले २४ र कविता कुँवरले २२ रन बनाएकी थिइन् । अन्य खेलाडी खास्सै जम्न सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफकी कप्तान सीता रानामगर र करुणा भण्डारीले समान ३–३ विकेट हात पारिन् ।
च्याम्पियन बनेको एपीएफले उपाधिसँगै पाँच लाख रुपैयाँ हात पारेको छ छ भने उपविजेतामा सुदूरपश्चिमले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ ।
एपीएफकी कप्तान सीता रानामगर प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भईन् । यस्तै प्रदेश ३ की खुशी डंगोल प्रतियोगिताको उत्कृष्ट बलर घोषित हुँदा सुदूरपश्चिमकी कविता कुवँर वेष्ट व्याट्सवुमनमा घोषित भइन् ।
तपाइँको प्रतिक्रिया