गर्मी बढेसँगै चितवनमा रगत अभाव, रक्तदान गरिदिन अपिल
चितवन – गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले रगतको अभाव देखिएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले रगत अभाव भएकाले रक्तदान गरिदिन अपिल गरेको हो ।
सोसाइटीका सभापति हरिप्रसाद पौडेल र मन्त्री राममणी खनालले सोमबार एक अपिल प्रकाशित गर्दै जिल्लाका अस्पतालहरुमा दिनहुँ उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको र हाल गर्मी मौसमका कारणले रक्तदान कार्यक्रम कम हुन गएको उल्लेख गरे ।
अपिलमा भनिएको छ “रगतको माग हाल अत्याधिक बृद्धि भई माग अनुसार रगत आपूर्ति गर्न कठिनाई भएकाले रगतको अभावमा बिरामीलाई जीवनदान दिन सम्पूर्ण रक्तदाता महानुभावहरु, रक्तदान गर्ने संघ संस्थाहरु, रेडक्रसकर्मीहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिदिनु हुनका लागि हार्दिक अपिल गर्दछौं ।”
रक्तदान गर्न ईच्छुक महानुभावहरुले प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर लगायत मातहतका रक्तसञ्चार युनिटहरुमा गई रक्तदान गरी सहयोग गर्न समेत अपिल गरिएको छ । रक्तसञ्चार केन्द्र भरतपुर मातहत क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, बघौडा अस्पताल, रत्ननगरमा ईकाई रहेका छन् ।
तपाइँको प्रतिक्रिया