११ औं वर्षमा प्रवेश गर्दै रेडियो देवघाट, सामाजिक कार्य गरेर वार्षिकोत्सव मनाउने
चितवन – नेपालकै पहिलो धार्मिक रेडियोको रुपमा परिचित रेडियो देवघाट १०२.६ मेगाहर्जले सामाजिक कार्य गर्दै १० औं वार्षिकोत्सव मनाउने भएको छ । माघ १ गते ११ औं वर्षमा प्रवेश गर्न लागेको रेडियो देवघाटले आज (बिहीबार) आयोजित एक पत्रकारसम्मेलन मार्फत वार्षिकोत्सवका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
वार्षिकोत्सवको अवसरमा पौष २७ गतेदेखि माघ १ गतेसम्म बिभिन्न कार्यक्रम आयोजना गरिने रेडियोका उपाध्यक्ष बिजयराज शर्मा भुषालले जानकारी दिए । भुषालका अनुसार २७ गते खुल्ला रक्तदान कार्यक्रम गरिनेछ । भरतपुर महानगरपालिका १ देवघाट वसपार्कमा उक्त कार्यक्रम आयोजना गरिने उनले बताए ।
यस्तै २८ गते देवघाट क्षेत्रमा रहेका बिभिन्न संघसंस्थाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ भने २९ गते अन्तर आमा समुह स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुनेछ । वार्षिकोत्सवको मुख्य दिन अर्थात माघ १ गते वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरिने रेडियोका स्टेसन म्यानेजर सुबास लामिछानेले बताए । सोही दिन उत्कृष्ट श्रोतालाई रेडियो वितरण गरेर वार्षिकोत्सव कार्यक्रम समापन गरिने लामिछानेले बताए ।
तपाइँको प्रतिक्रिया