भरतपुर — भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, आयोजना प्रमुख डा. नारायण सुवेदी लगायतको टोलीले आज नारायणी नदी तटबन्ध अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नं. १७, २६ र २७ क्षेत्रको स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा टोलीले नदी कटानको वर्तमान अवस्था, तटबन्ध संरक्षण कार्यको प्रगति, जोखिमयुक्त क्षेत्र तथा आगामी वर्षायामलाई लक्षित तयारीबारे निरीक्षण गरेको थियो। विशेषगरी नदी कटानका कारण जोखिममा परेका बस्ती तथा संरचनाको अवस्थाबारे चासो व्यक्त गरिएको थियो।
स्थलगत अवलोकनपछि टोलीले स्थानीय सरोकारवाला, जनप्रतिनिधि तथा प्राविधिकहरूसँग छलफल गर्दै तटबन्ध संरक्षण तथा जोखिम न्यूनीकरणका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ। साथै सम्भावित विपद् न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी र दीर्घकालीन संरक्षण योजनामा जोड दिइएको छ।


