नयाँ आविस्कारक युवाहरुलाई प्रोत्साहन गर्न “युवा वैज्ञानिक प्रोत्साहन कोष ”: मन्त्री दुलाल

एटुजेड समाचार

चितवन – सुचना प्रविधि कसैले नचाहेरै पनि जीवनको अभिन्न अंगजस्तै बन्दै गएको बाग्मती प्रदेशका सामाजिक विकास तथा प्रविधि मन्त्री युवराज दुलालले बताउनुभएको छ । नारायणगढको लायन्स चोकमा आयोजित क्यान ईन्फोटेक मेलाको उद्घाटन गर्दै मन्त्री दुलालले सरकारले सुचना प्रविधिलाई पाठ्यक्रमबाट हटाउन खोजेको भन्ने कुरा भ्रममा नपर्न र प्रविधि भनेको पाठ्यक्रममा मात्र सीमित हुने नभएकाले फराकिलो हुने बताउनुभयो ।

सुचना प्रविधि मानव जीवनको अभिन्न अंग र समाज तथा देश विकासका लागि महत्वपुर्ण कडी भएकाले यसलाई बन्देज लगाईन्छ कि भन्ने शंका नगर्न आग्रह गर्नुभयो । सुचना प्रविधिको विकासका लागि वैज्ञानिक क्षेत्रमा नविनतम् सोच भएका र नयाँ प्रविधि आविस्कार गर्ने युवाहरुलाई प्रोत्साहन गर्नका लागि युवा वैज्ञानिक प्रोत्साहन कोष नामक कोषको स्थापना गरेको बताउनुभयो । साथै उहाँले प्रत्येक वर्षको प्रदेश सरकारको ५ करोड रकम सो कोषमा जम्मा हुने समेत बताउनुभयो ।

मेलाको उद्घाटन स्मार्ट गेटसहित मञ्चको पर्दा रिमोर्टबाट खोलेर प्रमुख अतिथि मन्त्री दुलालले गर्नुभएको थियो । मेलाको उद्घाटन कार्यक्रममा कम्प्युटर एशोसियसन नेपाल महासंघ बाग्मती प्रदेशका अध्यक्ष मनोज कुमार न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस्तै क्यान महासंघका केन्द्रिय सचिव शेखरनाथ दुलालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै चितवन जिल्लामा ५ औँ पटकसम्म प्रदर्शनी गर्न सफल भएपनि अन्य जिल्लामा गर्न विविध आर्थिक कठिनाईसंग जुध्नुपर्ने भएकाले सम्भव नभएको बताउनुभयो । यस्ता प्रदर्शनीका लागि सरकारले पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै हिसान नवलपुरका अध्यक्ष तथा अक्सफोर्ड म्यानेजमेन्ट कलेजका प्राचार्य हरि भण्डारीले प्रविधीलाई आधारभुत शिक्षासंग जोड्न नसके देशमा विविध समस्या आउने बताउनुभयो । हरेक क्षेत्र सुचना प्रविधिसंग अभिन्न बनिरहेका बेला सुचना प्रविधिलाई आधारभुत शिक्षासंग जोड्नैपर्ने आवश्यकता रहेको बताउनुभयो ।

पाँच दिनसम्म चल्ने मेलामा नेपालको सूचना प्रविधि, मनोरञ्जन तथा पछिल्लो समय विकास भएका प्रविधिसम्बन्धी उत्पादन राखिएका छन् । मेलालाई थप परिष्कृत र परिमार्जित गर्ने उद्देश्यले यसपटक ह्याकाथन प्रतियोगिता समेत समावेश गरिएको छ ।

यस्तै मेलामा सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने युवालाई लक्षित गर्दै सफ्टवेयर तथा स्टार्टअपहरूका लागि स्टलमा विशेष छूटको व्यवस्था गरिएको क्यानका केन्द्रीय सदस्य भानु शर्माले बताउनुभयो । मेलामा सूचना प्रविधिमा काम गर्ने विभिन्न संघसंस्थाका लागि साइबर सेक्युरिटी, सूचना प्रविधि साक्षरता लगायतका कार्यक्रम समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।

कम्प्युटर एशोसियसन महासंघका विभिन्न प्रदेश प्रमुख तथा प्रतिनिधि , जिल्ला प्रमुख तथा प्रतिनिधि , सुचना प्रविधीका क्षेत्रका सरोकारवाला , विद्यार्थी लगायतको उपस्थिति रहेको उद्घाटन कार्यक्रम आयोजक क्यान चितवनका अध्यक्ष सन्तोषजनक भुसालको अध्यक्षतामा भएको थियो ।

मेलामा गत वर्षजस्तै विभिन्न रोबोटिक्स प्रदर्शनी र अन्तरविद्यालय नृत्य प्रतियोगितासमेत राखिएका छन् । मेलाले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीलाई बजार विस्तार गर्न, ग्राहकका आवश्यकताबारे थाहा दिन, बजार सर्वेक्षण गर्न, नवीनतम प्रविधि सार्वजनिक गर्न तथा ग्राहकहरूसँग सम्बन्ध स्थापित गर्न विशेष अवसर प्रदान गर्ने आयोजकको भनाइ छ ।

मेलामा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोलुशन, मोबाइल फोन सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक सेक्युरिटी सोलुशन, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुशन, सीसीटीभी, हार्ड डिस्कजस्ता उपकरण प्रदर्शनीका लागि राखिएको छ ।

८१ ओटा विभिन्न सूचना प्रविधिका स्टल रहेको मेलाबाट ४५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ भने ४३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । माघ २८ सम्म चल्ने उक्त मेलामा १ लाख ५० हजार अवलोकनकर्ताको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू