चितवन प्रिमियर लिग आजदेखी, राखेप सदस्य सचिव सिलवालले उद्घाटन गर्ने
चितवन – पहिलो संस्करणको सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि २० क्रिकेट प्रतियोगिताको आज (शुक्रबार) देखी शुरु हुँदैछ । नारायणगढको क्याम्पा चौरमा हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्नेछन् ।
२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजबिरुद्द इच्छाकामना वारीयर्स मैदान उत्रदैछ । यो खेल मध्यान्ह १२ बजे हुने आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि. का प्रवन्ध निर्देशक राजु चौधरीले जानकारी दिए ।
प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।
यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
दुबै टिम सुखद सुरुवात गर्ने योजना
सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि २० क्रिकेट प्रतियोगिता शुक्रबारबाट शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा राइट एण्ड एसोसिएट भरतपुर गुर्खाज र इच्छाकामना वारीयर्स भिड्दैछन् ।
भरतपुर संघर्ष पौडेलको कप्तानीमा मैदानमा उत्रदैछ भने इच्छाकामनाको कप्तानी दीपेश श्रेष्ठले गर्नेछन् । दुबै टोली जित हात पार्दै सुखद सुरुवात गर्ने योजनामा रहेका छन् । जसका लागि कडा मेहनतका साथ तयारी गरिएको दुबै कप्तानको भनाई छ ।
भरतपुरका कप्तान पौडेल उपाधी जित्ने लक्ष्यका साथ कडा अभ्यास गरिएको बताउछन् । उपाधीसम्मको यात्रा तय गर्नका लागि इच्छाकामनालाई हराउदै सुखद सुरुवात गर्ने योजना रहेको पौडेल बताउछन् । अभ्यासको नेतृत्व समेत गरेका पौडेल खेलाडीहरुबीच देखिएको तालमेल नै टिमको सबै भन्दा बलियो पक्ष भएको बताछन् ।
उनी अभ्यासको क्रममा खेलाडीहरुबीच देखिएको तालमेल शुक्रबारको खेलमा पनि देख्न पाइनेमा ढुक्क रहेका छन् । भरतपुरको लक्ष्य उपाधी नै भए पनि अहिलेलाई आफुहरु शुक्रबारको खेलको लागि तयारी गरिरहेको उनको भनाई छ ।
उता इच्छाकामनाका कप्तान दीपेश श्रेष्ठ पनि प्रतियोगितामा सुखद सुरुवात गर्ने योजना रहेको बताउछन् । उनी भरतपुरबिरुद्द मैदान उत्रन आफ्नो टोली तयार रहेको बताछन् । प्रतिद्वन्दीलाई कमजोर नआक्ने तर जित्ने लक्ष्यमा साथ नै आफुहरु मैदान उत्रने उनको भनाई छ । प्रतियोगितामा सुखद सुरुवात गरेर उपाधी तर्फ अघी बढ्ने योजना रहेको उनी बताउछन् ।
तपाइँको प्रतिक्रिया