चितवन : समग्र चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा आयोजना गरिएको रत्ननगर महोत्सवमा दर्शकको सहभागिता उल्लेखनीय रहेको छ । महोत्सवमा आज बुधबार हालसम्मकै सबैभन्दा बढी दर्शकको सहभागिता रहेको महोत्सव मूल संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजराम रेग्मीले जानकारी दिए ।
रेग्मीकाअनुसार आज छैठौँ दिनसम्म दुई लाख २५ हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । बुधबार माघे सङ्क्रान्ति पर्व तथा लोकप्रिय गायक प्रकाश सपुतको प्रस्तुति हुनाले समेत अत्यधिक दर्शकले महोत्सव अवलोकन गरेका रेग्मीले बताए । पछिल्लो समय महोत्सव अवलोकनका लागि दर्शकको सहभागिता बढ्दै गएको रेग्मीको भनाइ छ ।
पूर्वीचितवनको रत्ननगर नगरपालिकाको टिकौली चौरमा सञ्चालन भइरहेको महोत्सवमा पुगेका अधिकांशक व्यक्तिहरु सेल्फी डाँडा र जीपलाइन सफारीमा जाने गरेका रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । माघ ७ गतेसम्म सञ्चालन हुने १०औँ रत्ननगर महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने तथा चितवनको पर्यटन प्रवद्र्धन गर्ने श्रेष्ठले बताए । महोत्सवको आकर्षणको रुपमा दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघ, चितुवा र जरायोको मूर्ति रहेको उनले बताए ।
रत्ननगर महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तरगत बुधबार प्रकाश सपुतले दर्शकलाई भरतपुर मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालकाअनुसार प्रकाश सपुतले महोत्सवमा गलबन्दी, बोल माया, लगायतका आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । प्रकाशले गाउँदा दर्शकले हुुटिङ गर्दै वान्स मोर गरेका खनालले बताए ।
त्यस्तै, आज महोत्सवको सांस्कृतिक कार्यक्रममा विन्दु परियार, वसन्त सिलवाल, अमृत बोहोरालगायत स्थानीय कलाकाहरुले प्रस्तुति राखेका थिए । महोत्सवमा बिहीबार विन्दु परियार, इमेल लोक स्टार राम नेपाली, ऋतु कँडेल रत्ननगर कला मन्दिरको विशेष प्रस्तुतिका साथै निर्मली र प्याकुलीको हास्य प्रहसन रहने खनालले जानकारी दिए ।
महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यस्था गरिएको रेग्मीले बताए ।

