भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

एटुजेड समाचार

चितवन – चितवनमा रहेको भरतपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी बस्न बाध्य भएका छन् ।२ सय ८० क्षमता रहेको भरतपुर कारागारमा पुस ७ गतेको तथ्याङ्गक अनुसार ७ सय ५४ कैदीबन्दी रहेका छन् । जसमा ६ सय ९३ जना पुरुष, ५७ जना महिला र ४ जना आश्रित बालिका रहेको भरतपुर कारागारका जेलर कमल काफ्लेले जानकारी दिए ।

वि.स २०२५ सालमा निर्माण भएको भरतपुर कारागार १ बिघा १० कट्ठा क्षेत्रफलमा फैलिएकोे छ । क्षमता भन्दा ४ सय ७४ जना बढी कैदीबन्दीलाई व्यवस्थापन गर्न भरतपुर कारागारले कठिनाई भोग्नुपरेकोे छ । यस्तै कारागारमा सुरक्षा कर्मी र सवारी साधनको समेत समस्या छ ।

आवश्यक सुरक्षा कर्मीको व्यवस्था नहुँदा कैदीबन्दीलाई विभिन्न कारणबस बाहिर लग्दा भरतपुर कारागारले जोखिमका बाबजुत काम गर्दै आएको छ । कारागारको प्रमुख दायित्व कैदीबन्दीको सुरक्षा भएपनि उपलब्ध सुरक्षा कर्मी र साधन प्रयाप्त नभएको जेलर काफ्लेको भनाई छ ।

हाल कारागारमा १५ जना सुरक्षा कर्मी छन् भने एउटा सवारी साधन छ ।चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले क्षमता भन्दा बढी कैदीबन्दीको भार बोकी रहेको भरतपुर कारागारलाई व्यवस्थित गर्नका लागि जग्गाको खोजी भइरहेको जानकारी दिएका छन् ।

भट्टराईले अत्याधिक चाँपका बाबजुत जेनतेन कैदिबन्दी थेगी रहेको कारागारलाई व्यवस्थित गर्नका लागि रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा उपयुक्त ठाउँको खोजी भइरहेको बताएका हुन् ।कारागारका जेलर काफ्लेले छिमेकी जिल्ला पूर्वी नवलपरासीमा कारागार नहुँदा पुर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी चितवनमा नै पठाइने र मकवानपुरमा महिला कारागार नहुँदा भरतपुर कारागारले अत्यधिक चाप बेहोर्नु परेको बताए । चाप बढेका कारण केही समस्या भए पनि व्यवस्थापन गरिएको कारागार प्रमुख काफ्लेले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू