रत्ननगर महोत्सवमा सेल्फी डाँडा र जीपलाइनले दर्शक लोभ्याउँदै

एटुजेड समाचार

चितवन : पूर्वीचितवनको रत्ननगर नगरपालिकाको टिकौली चौरमा सञ्चालन भइरहेको महोत्सवमा विशेष आकर्षणको रुपमा रहेको सेल्फी डाँडाले दर्शकलाई लोभ्याएको छ । १०औँ रत्ननगर महोत्सवको स्टेज अगाडि रहेको सेल्फी डाँडामा फोटो खिचाउनका लागि महोत्सव अवसलोकनमा पुगेका अधिकांश दर्शक पुग्ने गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् महोत्सव परिसर निर्माण समिति संयोजक रघु भट्टले महोत्सव छिरेका ६० प्रतिशत व्यक्तिहरु सेल्फी डाँडामा गएर फोटो खिच्ने गरेको जानकारी दिए । चितवनमा आउने पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज भित्रको जङ्गल सफारीमा देख्न सकिने जनावरहरु महोत्सवको सेल्फी डाँडामा राखिएको भट्टले बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने तथा चितवनको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सेल्फी डाँडा निर्माण गरिएको उल्लेख गर्दै भट्टले त्यहाँ दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघ, चितुवा र जरायोको मूर्ति राखिएको जानकारी दिए । यी जनावरहरुको मूर्तिसँगै फोटो खिचाउन आउने व्यक्तिहरु धेरै उत्साही भएर जनावरको बारेमा जानकारी लिने गरेका उनले बताए । अवलोकर्ताहरुको सहजताका लागि सेल्फी डाँडामा राखिएको जनावर र चितवनमा पाइने जनावरको बारेमा जानकारी दिँदै सौराहा र चितवनको समग्र पर्यटनको बारेमा जानकारी समेत गराइने भट्टले बताए ।

रत्ननगर महोत्सवले आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन गर्न सहयोग पु¥याउने हेतुले सेल्फी डाँडासहित अन्य पर्यटकीय गतिविधि महोत्सव स्थलभित्र सञ्चालन गरिएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक राजाराम रेग्मीले बताए । उनकाअनुसार महोत्सव स्थलबाटै पञ्चकन्या सामुदायिक वनमा जीफ सफारीका लागि समेत घुम्न जाने व्यवस्था गरिएको छ । त्यस्तै पछिल्लो समय पर्यटकहरुको रोजाइमा परेको जीपलाइन सफारी समेत महोत्सव परिसरबाट सञ्चालन गरिएको रेग्मीले बताए । भरतपुरको जलदेवी सामुदायिक वनसँगको सहकार्यमा रत्ननगर महोत्सवमा जीपलाइन सफारी सुरु गरिएको रेग्मीको भनाइ छ ।

रत्ननगर महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज मंगलबार चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विकले आफ्नो प्रस्तुति राखेका छन् । विकले उनको चर्चित गीत सालको पातको टपरी हुनी… लगायतका गीतहरु गायर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । विकले आधा दर्जन भन्दा बढी गीतहरुबाट महोत्सव अवलोकलनका लागि उपस्थित दर्शकलाई मनोरञ्जन दिएका कलाकार व्यवस्थापन समितिका सहसंयोजक राजेन्द्र हमालले जानकारी दिए । पूर्वी चितवनको रत्ननगर नगरपालिकको टिकौली चौरमा पुस २५ गतेदेखि शुरु भएको १०औँ रत्ननगर महोत्सवमा आज मंगलबार नेत्रजी पन्त र अन्डरग्राउण्ड डान्स एकेडेमीको प्रस्तुति रहेको हमालले बताए । त्यस्तै, महोत्सवको सांस्कृतिक कार्यक्रममा भोलि बुधबार प्रकाश सपुत, विन्दु परियार सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने हमालले जानकारी दिए ।

मंगलबार ३० हजार दर्शकद्वारा महोत्सव अवलोकन

टिकौली चौरमा भइरहेको १०औँ रत्ननगर महोत्सवमा दर्शकको उपस्थिति बढ्ने क्रम जारी छ । मंगलबार मात्रै ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेका महोत्सवको संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । पुस २५ गतेदेखि सञ्चालन भएको महोत्सवमा पाँचौँ दिनसम्म आइपुग्दा ९० हजार दर्शकले महोत्सव अवलोकन गरेका रेग्मीको भनाइ छ । बुधबार महोत्सव अवलोकनका लागि दर्शकको संख्या अत्यधिक हुने आयोजकले अनुमान गरिएको रेग्मीले बताए । बुधबार  प्रकाश सपुत समेत आउने भएपछि दर्शकको चाप धेरै हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु