गुणस्तरी सेवाको आशा र अपेक्षा
सरकारको मातहतमा रहेको देशकै पहिलो दुरसञ्चार कम्पनीले भरपर्दो सेवा दिन नसकेको गुनासो बारम्बार सुनिदै आइएको छ । टेलिफोन, मोबाइल, र इन्टरनेटको सबैभन्दा ठूलो सञ्जाल भएको दुरसञ्चार कम्पनीले सरकारी स्रोत र साधनको उपयोग गरी सेवा प्रदान गर्ने अवसर पाउँदा पनि सेवाको स्तर सोचे जसरी उकास्न सकेको छैन ।
आकाशवाणी, टेलिफोन, फ्याक्स, टेलेक्सबाट शुरु भएको यो संस्था देशकै ठूलो सञ्चार प्रदायक संस्था बनेको छ । शुरुका चरणमा यसले उपभोक्ताको मन जित्दै आएपनि क्षेत्रफल र क्षमता विस्तार संँगै यसका प्राविधिक कमजोरी धेरै देखिएका छन् । एउटा टेलिफोन अर्को उपभोक्ताको लाइनमा जुध्ने, बिग्रिएका क्याविनेट समयमै मर्मत नहुने, एवं मोबाइलमा नेटवर्कको समस्या र इन्टरनेट गतिमा समस्या यी दुरसञ्चारका कमजोरी सामान्य बनिसकेका छन । २१ औ शताब्दीको यो प्रविधिको युगमा छिटो, र भरपर्दो सेवा दिन नसक्नु तर उपभोक्ताबाट पुरापुर रकम भुत्तानी लिदा उपभोक्ता मारमा परेका छन, जसका कारण नेपाल टेलिकमप्रति विश्वास घट्दै जान थालेको छ । नेपाल टेलिकमको कमजोरीको फाईदा अन्य दुरसञ्चार सेवा प्रदायकले लिन थालेका छन् ।
चितवन जिल्लामा मोवाइल लिने ग्राहकको एकिन तथ्यांक नभएपनि पिएसटिएन र एडिएसल इन्टरनेटका ग्राहक पनि त्यति बढ्न सकेका छैनन । करिब ६ लाख जनसंख्या भएको चितवन राम्रो बजार हो दुरसञ्चार सेवाका लागि । तर त्यसको फाईदा लिन नेपाल टेलिकमले सकेको छैन । ३ बर्षको तथ्यांकलाई विश्लेषण गर्ने हो भने इन्टरनेट प्रयोगकर्ता बढ्दै गएपनि टेलिकम उपभोक्ता संख्यामा भने बृद्धि भएको पाइदैन ।
अहिलेको सूचना प्रविधिका युगमा दुरसञ्चार सेवा मानिसको जीवनशैली बनिसकेको छ । यसलाई अत्यावश्यक सेवाको रुपमा लिइन्छ । तर यसको कम गुणस्तरको कारण मानिसले सास्ती खेप्नु राम्रो सन्देश होइन । प्राय मोबाइलको सामान्य प्राविधिक समस्याले सम्पर्क हुन नसक्दा ठूला ठूला प्राकृतिक तथा अन्य दुर्घटनामा उद्धार गर्न नसकेका घटना हाम्रो सामु थुप्रै छन् । त्यसैले मानवजीवनसंँग प्रत्यक्ष सरोकार राख्ने सरकारको एकमात्र दुरसंचार सेवा प्रदायक संस्थाले आफ्नो सेवालाई भरपर्दो चुस्त दुरुस्त बनाउन सक्नुपर्दछ । यसरी टेलिकमको सेवा प्रभावकारी एवं गुणस्तर बनाउन सकिएन भने ग्राहकको विश्वास क्रमश घट्न गई राजश्व संकलनमा समेत असर पर्ने देखिन्छ । बजारमा आएका निजी प्रतिस्पर्धी संस्थाहरुसँग डटेर प्रतिस्पर्धा गर्न टेलिकमले आफूलाई सुधार गर्नैपर्छ । त्यसैले सेवा विस्तार र ग्राहक बढाउन मात्र लक्ष्य नलिई सेवाको गुणस्तरमा पनि त्यतिकै ध्यान जानुपर्ने जरुरी छ ।
तपाइँको प्रतिक्रिया