बढ्दो आत्महत्या र नारायणी पुल
चितवन र नवलपरासीलाई छुट्याउने नारायणी नदीको पुलबाट हामफालेर आत्महत्या गरिएको घटना बढ्दै गए पछि पुलको संरचना सुरक्षाको दृष्टिले उपयूक्त रहे नरहेको बारे सोच्न बाध्य बनाएको छ । सुरक्षा चुनौति पनि यस घटनाले सृजना गरेको छ ।
पूर्व पश्चिम राजमार्गकै महत्वपूर्ण यस पुल केही समय देखि आत्महत्या गर्नेहरुको सजिलो गन्तव्य बन्न पुगेको छ । यही महिनामा मात्रै एक बच्चा सहित पुरुष हामफाले । उनको शव भेटियो तर बच्चाको शव भेटिएन । गत शनिबार पनि चिकित्सा शास्त्र पढ्दै गरेका एक विद्यार्थी पौडी खेल्ने क्रममा बेपत्ता भए । यसै सातापनि एक पुरुष हामफालेर आफ्नो ज्यान गुमाए । अघिल्लो महिनापनि एक युवक व्यस्त सडकका बीच पुलबाट हामफालेर वेपत्ता भए, उनको अवस्थापनि अज्ञात छ । यस्ता घटनाहरु विगतमा पनि नभएका होइनन । नदीमा हुने दुर्घटनाबाट, पौडी खेल्दा हुने बेपत्ता तथा मृत्यु भन्दा आत्महत्या गर्ने व्यक्तिहरुका कारण सुरक्षामा चुनौति थपिएको हो । यसरी श्रृंखलाबद्ध रुपमा हामफालेर आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएपनि यस विषयमा खासै सुरक्षा र स्थानीय निकायबीच गहन छलफल तथा योजना बनाएको पाइदैन । जसका कारण यस्ता घटनाले झन प्रश्रय पाएको त छदैछ अर्को कुरा सामाजिक विकृतीलाई समेत निम्त्याएको देखिन्छ । यस्ता घटना दोहोरिदै जांँदा सुरक्षा संयन्त्र चनाखो हुने , यसलाई न्यूनिकरण गर्न पहल गर्ने तर्फ त्यति ध्यान दिएको पाइदैन । जसले गर्दा आत्महत्या गर्नेहरुले यही ठाउंँ रोज्ने गरेको देखिन्छ । अर्काे तर्फ पुलको संरचना पनि आत्महत्याका लागि सजिलो देखिएको छ । अग्ला बार नभएका कारण जो कोही पनि सहजै नदीमा हामफाल्न सक्ने देखिन्छ । नारायणी पुल देशकै अति व्यस्त पुलहरु मध्यको हो । यहांँ दैनिक हजारौं सवारी यही पुलबाट ओहोर दोहोर गर्छन । तर यही भीडलाई छलेर दिनकै समयमा हामफालेर बेपत्ता र मृत्यु हुनुका घटनाले आश्चर्यचकित समेत बनाएको छ । पुलबाट हामफाल्नेलाई तत्काल उद्धार गर्ने कुनै संयन्त्र र जनशक्ति देखिदैन । जसकारण फाल हाल्नेहरु प्राय नभेटिने र भेटिए पनि जिउदै फेलापर्न नसकेका घटनाले यो समस्या गम्भीर रहेको देखाउँछ । उता यस्ता घटनाहरु संचार माध्यमबाट बाहिरिदा अन्य आत्महत्या गर्ने व्यक्तिहरुलाई प्रोत्साहन त मिलेको छैन भन्ने पनि भनाई बाहिर आउन थालेको छ । यो विषयमा पनि गम्भिर हुनु पर्दछ । तर त्यो भन्दा ठूलो विषय त त्यही नजिकै रहेको वडा प्रहरीले पनि यस्ता विषयलाई चासो देखाएको पाइदैन । हरेक घटनाहरु स्थानीयवासीको खबरबाट प्रहरीले थाहापाउनु आश्चर्यजनक कुरा हो ।
आत्महत्या यसै पुलमा नै आएर गरिनुको प्रमुख कारण पुलको संरचना सजिलो भएर हो । त्यसैले पुलबाट सहजै फाल हाल्न नसकिने गरी संरचना निर्माण गरिनु पर्छ । त्यसैगरि पुल नजिक रहेको वडा प्रहरी कार्यालयले आफ्नो घुमुवा टोली मार्फत त्यस क्षेत्रमा नियमित गस्ति गर्ने र नगरपालिका र अन्य निकायसँग मिलेर तत्काल उद्धारको लागि साधन र जनशक्तिको व्यवस्था गर्नु पर्ने देखिन्छ । दीर्घकालीन रुपमा आत्माहत्या कम गर्न यसको कारण पत्तालगाई मनोवैज्ञानिक परामर्श लगायतको उपाय अपनाउनु पर्छ । नत्र भविश्यमा पनि यस्ता घटनाका समाचार बनिरहने छन् ।
तपाइँको प्रतिक्रिया