विश्वमा पर्यटनले ठूलो फड्को मारिसकेको छ । पर्यटकका रुचि, चाहना र स्वाद परिवर्तन भैसकेका छन् । सेवा सुविधा धेरै सुधार भैसकेको छ । तर हाम्रो देशको पर्यटन उही परम्परावादी शैली भन्दा माथि उठ्न सकेको छैन । आएका पर्यटकहरु हम्रो प्रचार प्रसारको कारण भन्दा पनि उनीहरुको आफ्नो माध्यम मार्फत आएको देखिन्छ ।
पर्यटनको सिजन शुरु भैसकेको छ । दुई महिना पछि त नेपाल भ्रमण बर्ष २०२० नै शुरु हुँदै छ । अहिले सम्म यसको व्यापक प्रचारप्रसार र चहलपहल हुनु पर्ने हो त्यो महसुस हुन सकेको छैन । न सरकारको पहल देखि न व्यवसायिक अग्रसरता देखियो । यसका लागि पूर्व तयारी , पूर्वाधार निर्माण तथा प्रचार प्रसारमा व्यापक समय र प्रयास हुनु पर्नेमा सरकार र निजी क्षेत्र दुबै चुकेको देखियो । नेपाल सरकारले भ्रमणबर्षमा २० लाख बाह्य पर्यटक यस बर्ष भित्रयाउने लक्ष्य लिएको छ । व्यवसायीहरु पनि सरकारले गरेन भनेर सरकारकै मुख ताक्ने प्रवृत्ति अहिले पनि कायमै छ । बर्षौदेखि नेपालका विमानस्थल, हवाइ मैदान र पर्यटकीय गन्तव्य उस्तै छन, सेवा सुविधा त्यस्तै छ । बिशेषगरी विदेशी पर्यटकका लागि प्रचार प्रसार एवं नेपाल भित्रयाउन सरकारी निकाय लगायत पर्यटन व्यवसायीसबीच समेत गहन र गम्भीर छलफल भएको छैन । नेपालको पर्यटन उही परम्परावादी हिसाबले चलिरहेको छ । काठमाडौमा उही कला संस्किृतिका धरोहर, पोखरामा उही ताल र प्याराग्लाइडिङ , चितवनमा जंगल सफारीमात्र हाम्रो पर्यटनको आधार बनेको छ । पर्यटकको लागि भुलाउने कार्यक्रमहरु नै हामी सँग निकै कम छन् भने भएका कार्यक्रमको प्रचार हुन सकेको छैन । नयाँ गन्तव्यहरु जम्न सकेको छैनन् पूर्वाधार र प्रचारको अभावमा । काठमाडौं उपत्यका जत्रो सिंगापुरको जनसंख्या करिब ५४ लाख छ तर त्यहाँ झढै डेड करोड पर्यटक आउँछन् बर्षेनी । हाम्रो संभावना त्यो भन्दा बढी छ तर हाम्रो प्रयास प्रायः शुन्य छ । गन्तव्यमा विविधिरण, सेवामा विविधीकरण, सुविधामा विवीधिकारण, मौलिकतामा विविधीकरण र कार्यक्रममा विविधिकरण दिन सकेका छैनौं हामीले । जसका कारण उही गतिविधि उही गन्तव्य हेर्न पर्यटक आउन सक्दैनन , रमाउन सक्दैनन । यसका लागि सरकारले ठोस योजना नीति ल्याएको छैन । व्यवसायीले पनि त्यति उत्सुकता देखाएको पाइदैन । उनीहरु पर्यटक कसरी भित्रयाउने र आकर्षण गर्ने भन्ने बिषयमा सरकारलाई घच्घचाउने गरेको पाईदैन । सरकार पनि भ्रमण वर्ष घोषणा गरे पछि पर्यटक ओईरिन्छन् भन्ने मानसिकतामा देखिन्छ ।
पर्यटनबर्ष औपचारिकता निभाउन मात्रै मनाउनु हँुदैन । यसको उपलब्धी र विगतका कमी कमजोरीलाई सुधार्नुपर्दछ । पर्यटन प्रर्वद्धनको लागि ठुला होटल, रिसोर्ट मात्र खोलेर यसको विकास हुदैन । नयांँ गन्तव्य, तिनको पूर्वाधार विकास, सेवा, सुविधा, सुरक्षा, जनशक्तिमा गुणस्तर लगायतमा विशेष ध्यान दिई स्वदेशी तथा अन्तराष्ट्रिय रुपमा व्यापक प्रचारप्रसार जरुरी छ । सिंगापुर जस्ता पर्यटन भित्राउन सफल देशको अनुभवलाई अध्ययन गरी हाम्रो देशको संभावनालाई उजागर गरी हामीले साहसिक खेल पर्यटन, कृषि पर्यटन, जलपर्यटन, मेडिकल पर्यटन ,जस्ता बिषयलाई समेत समेट्न सक्नुपर्दछ । हरेक वर्ष आउने पर्यटकले नेपालमा नयाँ गन्तव्य, सेवा, सुविधा र कार्यक्रम पाउनु पर्छ । उही विगतका जस्तै पुराना शैली र प्रणालीले पर्यटनलाई दिर्घकालिन सहयोग पुग्दैन । त्यसैले यसका लागि पर्यटन सम्बन्धी नयांँ खोज , अनुसन्धान र पूर्वाधारको विकास गर्दै विविधिकरण ल्याउन सरोकारवाला गम्भिर बन्न जरुरी छ ।
