पर्यटनमा आशा र भरोसा
चितवनको पर्यटकीय नगरी सौराहामा एशियामानै पहिलोपटक विश्व रेञ्जर सम्मेलन जारी छ । झण्डै ६ दर्जन देशका प्रतिनिधिको सहभागिता हुने गरी पर्यटन नगरी सौराहमा यस्तो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुनु महत्वपूर्ण हो भने नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा पर्यटन प्रवद्र्धनको लागि ठूलो भरोसाको माध्यम पनि हो ।
विश्वका ७१ देशका ५सय ५० भन्दा बढी रेञ्जर र संरक्षणकर्मी सौराहा भेला भएका बेला उनीहरुमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने मौका र भरोसा यो सम्मेलनले दिएको छ । आगामी नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो संँख्यामा विदेशी पर्यटक नेपाल भित्रयाउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको बेला त्यस कार्यलाई यस्ता सम्मेलनले थप सहयोग पु¥याउने छ । यसैलाई अवसरका रुपमा लिएर सरकारी र गैरसरकारी क्षेत्रबाट यहाँका पर्यटकीय महत्वका बारेमा उनीहरुमार्फत सन्देश पु¥याउने काम सम्मेलनमा भइरहेको छ । अधिकांश सहभागी वन्यजन्तु संरक्षण, निकुन्ज लगायत प्राकृतिक सम्पदाका क्षेत्रमा काम गर्ने व्यक्तिहरु रहेका र नेपालको पर्यटन वन तथा वन्यजन्तुमा बढी केन्द्रित हुने भएकाले उनीहरुमार्फत राम्रो सन्देश जाने आशा गर्न सकिन्छ । यो सम्मेलनले केही दिनका लागि भने पनि होटल व्यवसायलाई टेवा समेत पुगेको छ जसका कारण व्यवसायी समेत उत्साहित देखिएका छन् । सहभागीलाई जङ्गल सफारी, डुङ्गा सयर, सांस्कृतिक कार्यक्रमको प्रस्तुतिकरण गरिँदै छ भने सम्भव भए जतिलाई रातको समयमा मध्यवर्ती वनभित्र निर्माण गरिएका संरचनामा राखिने भएको छ, जस मार्फत ती सन्देश आ–आफ्ना देशमा पुग्ने अपेक्षा गरिएको छ ।नेपालमा मिटिङ, ईन्सेन्टिभ्स्, कन्फेरेन्स् र एक्जिविसन् (माईस) मा आधारित पर्यटन प्रवद्र्धन गर्ने कुरा विगत केही वर्ष देखि चर्काे रुपमा उठ्दै आएको छ । यसको सम्भावना पनि धेरै छ । विगत केही सातामा हेर्दा पनि चितवनमा मात्र केही अन्तराष्ट्रिय सम्मेलन भैसकेका छन् । यस्ता सम्मेलनबाट नेपालको छवि विदेशमा राम्रो बन्दै जान्छ भने पर्यटन विकासमा समेत टेवा पुग्छ । नेपाल जस्तो भूपरिवेष्ठित देश स्वीजरल्याण्डले यस्तै माईस पर्यटनबाट ठूलोमात्रामा आर्थिक लाभ लिएको छ । अन्य देशले पनि यसैको सिको गर्दै पर्यटन पूर्वाधारमा जोड दिन थालेका छन् ।
यो अन्तराष्ट्र्रिय सम्मेलनले पर्यटन प्रवद्र्धन र ठूला अन्तर्राष्टिय सम्म्ोलन आयोजना गर्ने अवसर दिएको बेला पर्यटन व्यवसायीहरुले पनि उनीहरुले दिने सेवा सुविधा र आतिथ्यतामा कुनै कसर बाँकी नराखी अतिथिहरुलाई सन्तुष्ट बनाउने कोशिस गर्नुपर्छ । भनिन्छ सन्तुष्ट ग्राहक कुनै पनि व्यवसायका विज्ञापन प्रतिनिधि हुन् । आगामी नेपाल भ्रमण नेपाल भ्रमण वर्षमा पनि पर्यटन व्यवसायीले पाउन सक्ने यस्ता अवसरलाई सदुपयोग गरी नेपालको पर्यटनको छवि कायम राख्न मदत हुन्छ भन्ने आशा गरौं ।
तपाइँको प्रतिक्रिया