भरतपुर विमानस्थल विस्तार तत्काल थाल्ने विभागिय मन्त्री सहित जनप्रतिनिधिहरु र सरोकारवालाहरुको प्रतिवद्धता सहित तातेको माहोल अहिले सेलाएपछि चितवनवासी फेरी निराश भएका छन् । जुन मन्त्री आए पनि यसको विमानस्थलको अवस्था नसुध्रिने आशंकामा उनीहरुमा उब्जिन समेत थालेको छ ।
हालै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराइ र चितवनका सांसद समेत रहेका नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थितिमा भरतपुरमा भएको सरोकारवालाहरुको बैठकले विमानास्थलको विस्तारको काम काठमाडौंमा एक उच्चस्तरीय बैठक वसी एकसाताभित्र अघि बढाइने प्रतिबद्धता जनाएको थियो । तर दुई साता भन्दा बढी समय वितिसक्दा पनि उक्त बैठक वस्न नसक्दा अहिले यस विमानस्थलको भविश्यबारे चिन्ता थपिन थालेको छ । भरतपुरमा भएको स्थानीय सरोकारवालाबीच बैठकमा मन्त्री भट्टराई, प्रचण्ड , स्थानीय जनप्रतिनिधि र नागरिक उड्ड्यन प्राधिककरणका टोलीले विमानस्थलको काम तत्काल अगाडि बढाउन पहल गर्ने निर्णय गरेका थियो । उल्लेखनीय उपस्थिति रहेको त्यस कार्यक्रममा सबैले चासो र चिन्ता सहित विमानस्थल विस्तारको काम अघि बढाउनुपर्ने धारणा राखे । प्रचण्डले समेत जुनसुकै हालतमा यसको विकल्पको रुपमा मेघौली विमानस्थलको समेत व्यवस्थापन गनुपर्ने जोड दिए । भरतपुर विमानस्थललाई यथाशिघ्र विस्तार गर्न सरोकारवालासंँग बैठक छिटै राखी टुङ्ग्याउने प्रतिबद्धता समेत जनाइयो । मन्त्री भट्टराईले पनि रक्षा मन्त्रालय, रक्षासचिव, सेनापति लगायत प्रदेशमन्त्री सहितको बैठक एकहप्ता भित्र राखेर विस्तारको काम अघि बढाईने प्रतिबद्धता जनाए । यो बिेशेष कार्यक्रमले मन्त्रीले चालेको कदम प्रति सबै आशावादी थिए । विस्तारको लागि उत्तरपट्टिको सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने सम्बन्धमा सेनाले विकासको बाधक सेना नभएको स्पष्ट पारेपछि झनै स्थानीय उत्साहित र आश्वस्त भएका थिए । सेनाको ब्यारेक स्थानानन्तरण गर्न चुनौति हुने आंकलन गरिएका बेला सेनाको तर्फबाट उक्त अभिव्यक्ति आउनु सकारात्मक रुपमा सबैले लिएका थिए । हाल १२०० मिटर धाबन मार्ग भएको उक्त विमानस्थल सेनाको व्यारेक स्थानान्तरण गर्दा १८०० मिटर लम्ब्याउन सकिन्छ । तर हालसम्म यसबारे केन्द्र स्तरबाट केही प्रक्रिया अघि नबढ्दा फेरी यसको विस्तारको काम अलपत्र पर्छ कि भन्ने आशंका हुनु नौलो कुरा भएन ।
वर्षाै देखि बस्दै आएको सेनाको व्यारेक हटाएर विमानस्थल विस्तारको काम अघि बढाउनु चनौतिपूर्ण पक्कै छ । ५० बर्षभन्दा बढीको इतिहास बोकेको यस विमानस्थलमा त्यसपछि सामान्य मर्मत सम्भार बाहेक केही हुन सकेको छैन । यो विमानस्थल लुक्लापछि बढी जोखिमपूर्ण मानिन्छ । पटक पटक यसभन्दा अघिका मन्त्रीले पनि यसलाई विस्तार र स्तरोन्नति गर्ने वचनबद्धता गरेपनि कामले सार्थकता पाएको थिएन । तर युवा मन्त्री भट्टराइनै आएर यस्तो प्रतिबद्धता दिएपछि स्थानीय को आशा जाग्नु स्वभाविकनै थियो । सेनाको व्यारेक स्थानान्तरण, पश्चिम चितवन जाने मुख्य हुलाकी मार्ग, दक्षिणपट्टीका हाइटेन्सन तार अग्ला घरहरु , आवश्यक बजेटको व्यवस्थापन लगायतका चुनौतिका कारण यो काम वर्षौै देखि हुन नसकेको हो ।
आशालाग्दा युवामन्त्री भट्टराई र शिर्ष नेता प्रचण्डको उपस्थितिमा गरिएको यो प्रतिबद्धता हल्का सावित नहोस् । यस्ता जिम्मेवार व्यक्ति उपस्थित बैठकले गरेको निर्णय त यसरी कार्यान्वयनमा ढिलाई हुन्छ भने अब जनताले कसलाई पत्याउने , कसको भरोसा राख्ने ? त्यसैले आशा गरौं, चितवनबासीमा देखिएको उत्साहलाई निराशामा परिणत हुने अवस्था प्रचण्ड र भट्टराईले आउन दिने छैनन् र भरतपुर विमानस्थलले चाँडै नै मुहार फेर्ने बिषयमा पछि हट्ने छैनन ।
