चितवन – धर्मचोकस्थित युवा माध्यमिक विद्यालय ज्योतिजुनेलीले विद्यालयको शैक्षिक गुणस्तरको लागि महायज्ञ लगाउने भएको छ । विद्यालयमा शैक्षिक अभिवृद्धि गर्न जग्गा खरिद र प्राविधिक शिक्षा संचालन गराउने उद्देश्यले श्रीमद्भागवत महापुराण एवं धनधान्याचल सप्ताह ज्ञानमहायज्ञ लगाउन लागिएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
माघ ५ गतेदेखि १३ गतेसम्म संचालन हुने महायज्ञमा बालकृष्ण अर्यालले माधुर्य वाचक गर्ने युवा माध्यमिक विद्यालय ज्योतिजुनेलीका प्रधानाध्यापक रामनाथ घिमिरेले जानकारी दिनुभयो । विद्यालयको जग्गा अपुग भएकोले जग्गा खरिद गर्नको लागि महायज्ञ संचालन गर्न लागिएको भन्दै घिमिरेले भन्नुभयो, ‘जग्गादानहरुको सहयोगबाट यो विद्यालय यहाँसम्म आइपुगेको हो तर अहिले जग्गा थोरै भएको छ । विद्यार्थीहरुको लागि खेलमैदान, क्यानटिन बनाउने ठाँउ नभएको कारण जग्गा आवश्यक परेको हो ।’


२०४१ सालमा स्थापना भएको विद्यालयमा नर्सरीदेखी १० कक्षासम्म अंग्रेजी नेपाली दुवै माध्यमबाट पढाई हुर्दै आईरहेको छ । विद्यालयमा ५ सय ६५ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । ९ कक्षादेखी १२ सम्म प्राविधिक शिक्षा संचालन गर्ने योजनाले महायज्ञ गर्न लागिएको प्रधानाध्यापक घिमिरेले बताउनु भयो ।
महायज्ञ संचालनको गर्नका लागि हाल १५ सय ५ जना मूल समारोह आयोजक समिति गठन भएको संयोजक तथा भरतपुर महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले जानकारी दिनुभयो । नेपाल सरकारको कार्यविधि अनुसार सरकारको पैसाले भुमि खरिद गर्न नपाउने खनालले बताउनु भयो ।
खनालले भन्नुभयो, ‘विद्यार्थीको भविष्यको लागि जग्गा खरिद गर्नुपर्ने भएको छ । १ करोड ६० लाख जग्गालाई बैना लगाईसकेको छ । भने करिब ३ करोड रकम संकलन गर्ने हाम्रो लक्ष्य रहेको छ ।’
३० देखी ४० लाख महायज्ञमा खर्च हुने र बांकी १ करोड प्राविधिक शिक्षामा खर्च गरिने खनालले बताउनु भयो । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट कार्यक्रम उद्घाटन गरिने खनालले जानकारी दिनुभयो ।