बाँसपानी हत्याकाण्ड: दश वर्षसम्म पीडितलाई न न्याय न क्षतिपूर्ति

प्रकाश अधिकारी,सुर्खेत – दश वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र बाँसपानीमा नेपाली सेनाले गोली चलाउँदा सुर्खेत हरिहरपुर कप्सेराका तीन महिलाको घटनास्थलमै ज्यान गयो । विसं २०६६ फागुन २६ गते निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले गोली चलाउँदा ३५ वर्षीय देवीसरा सुनार, १३ वर्षीय चन्द्रकला र २९ वर्षीय अमृता सुनारको ज्यान गएको थियो । देवीसरा र चन्द्रकला आमाछोरी हुन् ।
पीडित परिवारले न्याय पाउनुको साटो १० वर्षसम्म उल्टै घटना ओझेलमा पारिएको गुनासो गरेका छन् । ‘घटनापछि विभिन्न आयोग र छानबिन समिति पनि बने, ती सबैको निष्कर्ष पीडितलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नु भन्ने नै थियो’, मृतक अमृताका पति रत्नबहादुरले भने, ‘उल्टै घटना सामसुम पारियो, दोषीलाई कारवाही त के क्षतिपूर्तिसमेत पाउन सकिएन ।’ न्याय र उचित क्षतिपूर्तिको आशामा पीडित परिवारका सदस्य वीरेन्द्रनगर आइपुगेका छन् ।
देवीसराकी छोरी शान्तिले सबैतिरबाट कारवाहीको सिफारिश हुँदासमेत सरकारले दोषी सैनिक कर्मचारीलाई कारवाही गर्न नसकेको बताउनुभयो । शान्तिको आरोप छ, ‘सेना र वनरक्षकको टोलीले घेरा हालेर नियन्त्रणमा लिई हत्या गरेको हो, आफ्नै वनमा काउलो टिप्न जाँदा सेनाको गोली खानुप¥यो ।’ हालसम्म मृतकका परिवारले रु तीन लाख मात्र पाएको बताएका छन् ।
‘हाम्रो आम्दानीको मुख्य स्रोत काउलो थियो, त्यही काउलो लिन गएकी श्रीमती गुमाएँ’, रत्नबहादुरले भने, ‘राज्यबाटै पीडित भयौँ, अहिले बालबालिकाको बिचल्ली छ, न दोषीलाई कारवाही भयो न क्षतिपूर्ति पाइयो ।’ घटनापछि तत्कालीन सरकार, नेपाली सेना र निकुञ्ज कार्यालयले पीडित परिवारलाई रु १० लाख क्षतिपूर्ति तथा दोषी सैनिकलाई कारवाही गर्ने आश्वासन दिएको थियो । पीडित परिवारले सहमतिअनुसार क्षतिपूर्ति र दोषीलाई कारवाही हुनुपर्ने मागसहित पुनः दबाब बढाएका छन् । घटनापछि निकुञ्ज कार्यालयले किरिया खर्च उपलब्ध गराएको थियो ।
उक्त क्षेत्रका कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले पीडित परिवारका सदस्यले चासो नदिएकाले समयमै राहत तथा क्षतिपूर्ति दिलाउन पहल नभएको बताए । उनले त्यतिबेलाको सहमतिका आधारमा क्षतिपूर्ति दिलाउन गृह मन्त्रालयसमक्ष पहल गरिसकेको जानकारी दिँदै भने, ‘फाइल पेश भइसकेको छ, यो विषयमा मैले पटक–पटक गृहमा पुगेर दबाब पनि दिएको छु ।’ रासस
तपाइँको प्रतिक्रिया