सिरी ‘ए’ मा युभेन्टसको पहिलो हार
एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्टसले सिजनको पहिलो हार व्यहोरेको छ । गए राती भएको खेलमा क्रममा १० खेलाडीमा समेटिएको युभेन्टस घरेलु टोली लाजियोसँग ३–१ ले स्तब्ध भयो ।
स्टेडियो ओलम्पिको रोमामा भएको खेलमा युभेन्टसलाई स्तब्ध बनाउन लुइज फिलिपे, सेरगेज मिलिन्किोभिक साभिक र फिलिपे काइसेडोले गोल गरे । सुपर स्टार फरवार्ड रोनाल्डोले गरेको गोल सान्त्वना गोल बन्यो ।
खेलको २५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट खेलमा युभेन्टसले खेलमा अग्रता बनाएको थियो । रोनाल्डोले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए । पहिलो हाफका इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुइस अबलेर्टाेको पासमा लुइस फिलिपेले बराबरी गोल फर्काए ।
६८औं मिनेटमा युभेन्टस १० खेलाडीमा समेटिएको फाइदा घरेलु टोली लाजियोले उठायो । जुआन क्वाडराडो भिएआरको सहायतामा सिधै रातो कार्ड खादै मैद्यानबाट बाहिरिएका थिए । त्यसपछि युभेन्टस समस्यामा परेको थियो । ७४औं मिनेटमा सेरगेज मिलिन्कोभिकले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए । ७९औं मिनेटमा सिरो इमोबाइल पेनाल्टीमा चुके । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फिलिपे काइसेडोले गोल गर्दै युभेन्टसलाई ३–१ ले स्तब्ध बनाए ।
हारसँगै युभेन्टसले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । युभेन्टसको १५ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको इन्टर मिलानको ३८ अंक छ । लाजियो ३३ अंकसहित तेस्रो स्थानमा छ ।
तपाइँको प्रतिक्रिया