महिला फूटबलको उपाधि एभरेष्टलाई
चितवन – नारायणगढको क्याम्पाचौरमा सम्पन्न पहिलो संस्करणको स्व.जगदीश खड्का महिला फूटबलको उपाधि हानमी एभरेष्ट क्लब चितवनले हात पारेको छ ।
शुक्रबार भएको फाइनल खेलमा मकवानपुरको बागमती गाउँपालिकालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै एभरेष्टले उपाधि उचालेको हो । एभरेष्टले ४० हजार नगद पुरस्कारसहित ट्रफी उचाल्यो । उपविजेता मकवानपुरले २० हजार नगदसहित ट्रफी पायो ।
फाइनल खेलको निर्धारित (७० मिनेट) समयमा दुबै टोली गोलरहित बराबरीमा रोकिए । त्यसपछि नतिजाका लागि गरिएको टाइब्रेकरमा बागमतीकी सुस्मिता थिङ, निकिता थोकर र एलिना खड्काले गोल गरे पनि पूजा लोप्चन र धर्ती लामा गोल गर्न चुके । एभरेष्टका लागि सञ्जु कुमाल गोल गर्न चुके पनि प्रियंका गुरुङ, पार्वती घले, यमुना मगर र कुमारी तामाङले गोल गरी टोलीको जित सुनिश्चित गरे ।
खेलको प्लेयर अफ द म्याच एभरेष्टी पार्वती घले घोषित हुँदै २ हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै विधागततर्फ उत्कृष्ट गोलरक्षक एभरेष्टकी झरना राई, उत्कृष्ट रक्षक बागमतीकी एलिना खड्का, उत्कृष्ट मिडफिल्डर बागमतीकी सुस्मिता थिङ, उत्कृष्ट स्ट्राईकर बागमतीकी पूजा लोप्चन र इमर्जिङ प्लेयर पञ्चकन्या फूटबल क्लबकी रीना नेपाली र उत्कृष्ट प्रशिक्षक एभरेष्टका गोपाल गुरिङ चुनिए । सबैले समान ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एभरेष्टकी कुमारी तामाङ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरिन् ।
चितवन जिल्ला फुटबल संघको आयोजना र पन्चकन्या महिला फुटबल टिमको सह–आयोजनामा मंसिर १७ गतेदेखि भएको प्रतियोगितामा कूल ८ टोलीको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया