१३ औं साग : महिला क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित, स्वर्णको सम्भावना सकियो
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेटको आज (शुक्रबार) सम्पन्न खेलमा नेपाल पराजित भएको छ । आज भएको खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भएको हो । यो सँगै नेपालको स्वर्णको संभावना सकिएको छ ।
श्रीलंकाले प्रस्तुत गरेको १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन मात्र बनायो। नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले सर्वाधिक १९ रनको योगदान दिइन् । उनले २८ बलमा २ चौका प्रहार गरिन् ।
अप्सरी बेगम ११, करुणा भण्डारी १२ र कविता कुवर १३ रनमा नट आउट रहिन् । नेपालका ७ ब्याट्सवुमेनले दोहोरो अंकमा रन छुन सकेनन् । श्रीलंकाको सचिनीले ३ र सत्या सन्दीपनीले २ विकेट लिइन् ।
त्यसअघि पोखरा रंगशालमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो । श्रीलंकाकी ओपनर उमिषा थिमाशिनी २ रनमा आउट भईन् ।
कप्तान हर्षिता माधबीलाई सोनु खड्काबाट १६ रनमा क्याच आउट गराएपछि श्रीलंका दबाबमा परेको थियो । माधवीले १९ बलमा २ चौका प्रहार गरिन् । श्रीलंकाको इनिङ उकास्ने प्रयास गरेकी जानदी आनली ३५ रनमा बोल्ड आउट भईन् । उनले ३६ बलमा १ चौका र २ छक्का प्रहार गरिन् ।
लिहिनी अप्सरा २७ बलमा ५ चौका सहित ३७ रनमा आउट भईन् भने सत्या सन्दीपनी २२ रन बनाईन् । नेपालको लागि सोनु खड्काले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् ।सरस्वती कुमारी चौधरीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । अञ्जली चन्दको नाममा १ विकेट रह्यो ।
तपाइँको प्रतिक्रिया