१३ औं साग : आज १९ खेल हुँदै, कुन खेल कहाँ ?
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज (शुक्रबार) विभिन्न १९ खेलहरू हुँदैछन् ।सुरु भइसकेका खेलले निरन्तरता पाउनेछन् भने बक्सिङ स्क्वास फेन्सिङ र कुस्तीका खेलहरु आजबाट सुरु हुनेछन् ।
बक्सिङ र स्क्वास सातदोबाटोमा हुनेछ । यस्तै फेन्सिङ कीर्तिपुरको कभर्डहलमा सञ्चालन हुनेछ र आजदेखि सुरु हुनेछ कुस्ती जनकपुरमा सञ्चालन हुनेछ ।यसबाहेक काठमाडौंमा एथ्लेटिक्स, पौडी, बास्केटबल, गल्फ, साइक्लिङ, क्रिकेट, सुटिङ, कबड्डी, टेबल टेनिस, टेनिसका खेलहरु पनि हुनेछन् ।
ब्याडमिन्टन, महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन बिच, भलिबल, आर्चरी र ह्याण्डबलका खेल पोखरामा हुनेछ ।सातदोबाटोस्थित नेसनल कराँते एकेडेमीमा आजदेखि सुरु हुने बक्सिङमा पहिलो दिन नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४९ केजीमा सुशील थापा, ६० केजीमा नील शाह, ६४ केजीमा भूपेन्द्र थापा मगर र ७५ केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
क्रिकेटमा नेपालले आज माल्दिभ्ससँग खेल्नेछ । खेल टीयू मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । यसैगरी पौडीमा आज विभिन्न ७ इभेन्टमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
तपाइँको प्रतिक्रिया