धेरैले तिमी नेपाली होइनौ भन्दा दु:ख लाग्छ : गौरिका सिंह
काठमाडौं – गौरिका सिंह, यो नाम नेपाली खेलकुदको लागि निकै परिचित नाम हो । अझ भनौ पौडीको यो नाम निकै चर्चित छ । सानो उमेरमा पौडी खेल मार्फत गौरिकाले नेपालको शान बढाईरहेकी छिन् ।
तिनै गौरिका अहिले १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्न नेपालमा आएकी छिन् । लण्डनमा बसोबास गर्ने गौरिका सागमा सहभागी हुनको लागि नेपाल आएकी हुन् ।
उनले आज (बिहिबार) पौडीको २ सय मिटर फ्रिस्टाइलमा ऐतिहासिक स्वर्ण समेत जितिन् । २ सय मिटर फ्रिस्टाइलमा प्रतिष्पर्धामा भारतीय खेलाडीलाई पछि पार्दै गौरिकाले ऐतिहासिक स्वर्ण पदक हात पारिन् । गौरिकाले भारतकी सुभांगी सिंहलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्। उनले निर्धारित दूरी २ मिनेट ०५.०६ सेकेन्डमा लक्ष्य पूरा गरिन्।
गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औं सागमा रजत र कास्य पदक जितेकी थिइन्। गौरिकाले भारतीय खेलाडीलाई पछी पर्दा नेपाली समर्थकहरुको उनको नाम लिदै चियर्स गरेका थिए ।
श्रीलंकाकी गंगा सेन तेस्रो भइन्। सागमा पौडीमा व्यक्तिगत प्रतिस्पर्धामा नेपालले स्वर्ण जितेको यो पहिलो पटक हो।यसअघि नेपालले १९९९ मा टिम रिलेमा स्वर्ण जितेको थियो। नेपालले साग इतिहासमा पौडीमा २० वर्षपछि स्वर्ण जितेको हो।
दर्शकहरुको त्यो माया देखेर दङ्ग परेकी गौरिकाले खेल पछी प्रतिकृया दिदै आफ्नो पनि यती धेर फ्यान भएको रहेछन् भन्ने कुरा पहिले कहिल्यै पनि महसुस नभएको बताईन् ।’घरेलु दर्शकको उत्साहले मेरो सातो लियो’, गौरिकाले भनिन्, ‘यो ओलम्पिकमा हुने चियर्स जित्तिकै थियो।
दर्शकको माया देखेर खुशी भएकी गौरिकाले अर्को कुराले भने दुखी बनायो । बाहिर बसेकै कारण धेरैले आफुलाई तिमी नेपाली होइनौ भन्दा भने दु:ख लाग्ने उनले बताईन् । ‘धेरैले बाहिर बस्छ भन्छन्, नेपाली होइन भनेर भन्छन् उनले भनिन्,’तर म नेपाली हो र यो मेरो स्वर्ण नेपालका लागि हो।’
तपाइँको प्रतिक्रिया