चितवन – म रुक्मिणी सापकोटा– एक स्मल हेभन मोडेल स्कुलकी शिक्षिका, साथमा एक साइकल यात्री पनि । मेरो लक्ष्य देशमा असल विद्यार्थी उत्पादन गर्ने र समाजमा सकारात्मक कुरा फैलाउने नै हो । पछिल्लो समय भने अधिकांश सञ्चार माध्यममा चितवनकी साहसी साइकल यात्री भनेर नामाकरण भइरहेको देखेको र सुनेको पनि छु । यसले आफूलाई गौरवान्वित तुल्याएको अनुभूति हुन्छ ।
सर्वप्रथम मेरो साइकल यात्रा नेपालको सुगमदेखि दुर्गमसम्मका कुनाकाप्चामा पुगी सुन्दर र पर्यटकीय गन्तव्यका सम्भावित ठाउँहरुलाई विश्वसामु ल्याउनु नै हो । सुन्दर तर ओझेलमा परेका हिमाल, पहाड, तराईका रमणीय एवम् पर्यटकीय स्थलको बारेमा जानकारी दिनु साथै त्यहाँको अनुभव साट्न सकियो भने मात्र पनि सुरु हुन लागेको भिजिट नेपाल २०२० लाई केहि हदसम्म सहयोग गर्न सकेको ठान्छु ।



हामीसँग यति धेरै पर्यटकीय स्थल छन् जस्तैः धार्मिक, पुरातात्विक एवम् प्राकृतिक, ति सबैको बारेमा विदेशीलाई जानकारी मात्र दिन सक्यौ भने पनि उनीहरुको बसाईलाई लामो बनाउन सकिन्छ । हाम्रो उद्देश्य पनि उनीहरुको पर्यटकीय बसाइलाई लम्ब्याउनु नै हो । यदि सरकारले हामी जस्ता साइकल यात्रीको कुरा सुनेर वा बुझेर सो स्थानलाई विकास गर्न तयार भयो भने यो सुन्दर देश हेर्न आउने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि हुनेछ ।
अब आयो मैले साइकल चलाउनुको उद्देश्य । म बिहानको समयमा फुर्सद भयो भने साइकल चलाएर प्राकृतिक सुन्दरता भएको ठाउँमा पुग्ने गर्दछु र यसबाट मेरो स्वास्थ्यमा सकारात्मक प्रभाव त परेको नै हुन्छ, साथसाथै मैले नयाँ नयाँ ठाउँहरु देख्न पाइरहेको पनि हुन्छु ।
म सम्पूर्ण चितवनवासी तथा नेपालभरिका सबैलाई हरेक दिन आफ्नो काममा जाँदा आउँदा साइकल प्रयोग गर्न अनुरोध गर्न चाहन्छु । यसले हामीले यातायातमा गर्ने खर्च जोगिन्छ भने अप्रत्यक्ष रुपमा हामीले गर्नुपर्ने दैनिक शारीरिक व्यायामको समय पनि जोगाइदिन्छ । पछिल्लो समय भौतिक विलासिताको कारणले साथै दैनिक जीवनमा हुने व्यस्तताको कारणले हामी शारीरिक व्यायामको लागि यथेष्ट समय दिन सक्दैनौ । त्यस्तै हामीले दैनिक प्रयोग गर्ने खानपिन पनि अर्को कारण हो । अर्को कुरा साइकलको प्रयोग गरेर वातावरण स्वच्छ राख्न पनि सहयोग पु¥याइरहेका हुन्छौं ।
हाम्रो समाजमा साइकल चलाउनुलाई हेयको दृष्टिले हेरिन्छ । त्यसै भएर पनि पछिल्लो पुस्तामा साइकलप्रतिको मोह कम भएको हो । तर विदेशमा हामीले सुनेका र देखेका पनि छौं कि त्यहाँ उच्च ओहदामा बसेका व्यक्तिहरुले पनि साइकल चलाएर अफिस गएको, सपिङ गर्न गएको । उनीहरु आफ्नो स्वास्थ्य र वातावरणलाई माया गर्ने गर्दछन् । त्यहाँ साइकल चलाउनुलाई सम्पन्नतासँग जोडिदैन ।
अर्को कुरा यदि हामीले हाम्रो आफ्नो बालबच्चाहरुलाई सानै उमेरदेखि नै साइकल चलाउने बानी पार्न सक्यौं भने भोलि कलेज जीवनमा पनि चलाउने छन् । यदि उनीहरुले दैनिक रुपमा कलेज जाँदा वा छोटा दुरीमा साइकल चलाउन थाले भने हामीहरुलाई आर्थिक भार कम हुनुका साथै उनीहरुको स्वास्थ्यमा पनि फाइदा पुग्छ । जसले उनीहरुलाई कुलतमा नलाग्नको लागि प्रेरित गर्छ ।
यहि सोचलाई मैले समाजमा ल्याउनको लागि र बुझाउनको लागि दैनिक जीवनमा पनि सम्भव भएसम्म साइकल नै चलाउने गरेको छु । म समाजलाई केहि गर्न तथा दिन सक्छु कि भनेर सुन्दर देश नेपालको धेरै भूभागहरु मुक्तिनाथ, पोखरा, बन्दीपुर, उपरदाङगढी, हात्तिवाङ्ग, चितवनको अग्लो पहाड सिराइचुली, काठमाडौं, लुम्बिनी, सौराहा, मेघौली, प्रदेश राजधानी हेटौंडा र साथसाथै नवलपरासीका सम्भावित पर्यटकीय क्षेत्रहरु साइकलमै घुमिसकेको छु ।
भर्खर मात्र मंसिर ६ गते लैंगिक समानता, पर्यटन वर्ष २०२० र स्वस्थ पर्यावरणको लागि साइकल भन्ने सन्देश बोकेर हिन्दु संस्कृतिको केन्द्रबिन्दु काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरबाट सिन्धुलीगढी हुँदै जनकपुरको जानकी मन्दिर र त्यसपछि हेटौंडा हुँदै नारायणगढ–देवघाटको यात्रा पूरा गरिसकेकी छु । यो यात्रा करिब ६०० कि.मि. को थियो । आगामी दिनमा पनि पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्न सुन्दर रारा, माथिल्लो मुस्ताङ, मनाङ जिल्लामा रहेको सबैभन्दा अग्लो ताल तिलिचो ताल जाँदैछु । मेरो मात्र नभई हामी सबैको यो लक्ष्यलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिनुहुने मेरो परिवारका सबै सदस्य, संघ संस्था, स्कुल, सञ्चारकर्मीहरु र हरेक व्यक्तिलाई धन्यवाद दिन चाहन्छु ।
(लेखक रुक्मिणी सापकोटा साइकल यात्री हुन् भने पेशाले शिक्षिका पनि हुन्)