एड्स रोगका कारण विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु

एटुजेड समाचार

अमेरिका – प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोर किशोरीहरुको मृत्यु भएको पाइएको छ । यूनीसेफले मङ्गलबार सार्वजनिक गरेको विश्वभरीको तथ्याङ्क अनुसार हरेक घण्टा १३ जनाको मृत्यु हुने गरेको हो ।पर्याप्त उपचारको व्यवस्था नहुनु, उपचारमा पहुँचको अभावलगायतका कारणले उनीहरुको मृत्यु भएको जनाइएको छ ।

सन् २०१८ मा १४ वर्षसम्मका ५४ प्रतिशत अर्थात् सात लाख ९० हजार बालबालिका एचआइभीसहित बाँचेका छन् । उनीहरुले विभिन्न उपचार विधि अपनाएको यूनीसेफले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।बिरामीलाई औषधि उपचारका लागि सबैभन्दा धेरै पहुँच दक्षिण एसियामा रहेको पाइएको यूनीसेफले जनाएको छ । दक्षिण एसियामा ९१ प्रतिशत बिरामीको पहुँच छ भने त्यसपछि धेरै मध्यपूर्व र उत्तर अफ्रिकामा देखिएको छ । त्यहाँ ७३ प्रतिशत बिरामीको पहुँच देखिएको छ ।

त्यसैगरी पूर्वी तथा दक्षिण अफ्रिका, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा ६१ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबिनमा ४६ प्रतिशत र पश्चिम तथा मध्य अफ्रिकामा २८ प्रतिशत बिरामीलाई मात्रै औषधि उपचारमा पर्याप्त पहुँच भएको यूनीसेफले जनाएको छ । सन् २०१८ मा एचआईभी एड्सबाट संक्रमित भएका नौ वर्षसम्ममा एक लाख ६० हजार नयाँ विरामी थपिएका छन् । विश्वभरी अहिले यही उमेर समूहका एचआईभी संक्रमित बालबालिकाको संख्या ११ लाख रहेको यूनीसेफको प्रतिवेदनमा उल्लेख छ । (रासस\सिन्ह्वा)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु