सुशिल पन्त,
चितवन – माडीको सोमेश्वरगढी आकर्षक मूर्तीहरुले ढकमक्क ढाकिएको छ । सोमेश्वरगढी मन्दिर जाने बाटोमा रहेका पत्थरहरुलाई मूर्तीकारहरुले मूर्ती आकार दिएका छन् । ति मूर्तीहरुले सोमेश्वरगढीको सुन्दरतामा छुट्टै चमक थपेको छ ।
अहिले नेपाल भ्रमण बर्ष २०२० चलिरहेको छ । नेपाल भ्रमण वर्ष २०२०का लागि नेपाल सरकारले तोकेको एक सय गन्तव्य मध्य एक माडी पनि हो । भ्रमण बर्षलाई नै लक्षित गर्दै माडीको सोमेश्वरगढीमा ५० भन्दा बढी मूर्तीहरु बनाईएको छ । माडी नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्ति विभागको संयुक्त प्रयासमा सम्पन्न राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला २०७६ मा ३३ जना कलाकारहरुले १८ दिन लगाएर ५० भन्दा बढी मुर्ती बनाएका हुन् ।
सोमेश्वरगढीको चिसापानी देखी गोलपार्क क्षेत्रसम्म बनाईएका सबै मूर्तीहरुले छुट्टा छुट्टै सन्देश बोकेको छ भने केही मूर्तीले धेरै अर्थ बोकेको छ । समाज देखी धर्मको कुराहरुलाई कलाकारहरुले मूर्तीको रुपमा उतारेका छन् । गढी मूर्तीहरुको फुलबारी नै बनेको छ । जहाँ फरक फरक किसिममा मूर्तीहरु बनाईएका छन् । देशकै उत्कृष्ट कलाकारहरुले बनाएको मूर्तीहरुले पर्यटकको मन लोभ्याउनेछ ।
गढीमा बनाईएका मूर्ती मध्य दिनेश्वर महत्तोले बनाएको मूर्ती बिशेष छ । गढीमा बनाईएका मध्य सबै भन्दा उच्च स्थानमा बनाईएको उक्त मूर्तीले नेपालीको शिर पनि उच्च पार्छ । माडीनै घर भएका महत्तोले नेपालको राष्ट्रियता झल्कने मूर्ती बनाएका छन् । उनले बनाएको मूर्तीमा नेपालको राष्ट्रिय झण्डा सँगै सर्वोच्च शिखर सगरमाथाको आकार रहेको छ । यस्तै नेपालीहरु बिचको एकतालाई पनि उनले आफ्नो कला मार्फत मूर्तीको रुपमा देखाउन खोजेका छन् ।
नेपाल र भारतको सिमानामा रहेको सोमेश्वर गढीमा बनाईएको यो मूर्ती सिमाबाट झनै नजिक रहेको छ । यसर्थ पनि यसको महत्व अझै बढी रहेको छ । गढीमा महत्तोले २ वटा मूर्ती बनाएका छन् । शुरुमा शालिग्रामको मूर्ती बनाएका उनले त्यो सकेर नेपालको राष्ट्रियता झल्कने मूर्ती बनाएका हुन् । उक्त मूर्तीले राष्ट्रियताको भावलाई प्रष्ट्याउन खोजिएको उनले बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तीकार हिम्मत नेम्बाङले १८ दिनमा ४ वटा मूर्ती बनाए । उनले बनाएको चारवटै मुर्तीको सन्देश छुट्टा छुट्टै छ । उनले बनाएका चारवटा मुर्ती मध्यको एक हो ‘मानव खप्पर’ । उक्त ‘मानव खप्पर’ को आकारमा बनाईएको मूर्तीले ‘सकारात्मक दृष्टीकोण’ को सन्देश बोकेको छ । ‘मूर्ती मानव खप्परको आकारमा बनाएको भए पनि त्यसले सकारात्मक दृष्टीकोणको सन्देश दिन खोजेको छ नेम्बाङले भने’, त्यसले मानिसको भविष्यप्रतीको गहिरो सोचलाई चित्रण गर्छ ।’ मानिसले भविष्यबारे सोचेर अगाडि बढ्नु पर्छ भन्ने कुरालाई मूर्तीमा उतारिएको उनले बताए ।
त्यस बाहेक उनले अन्य ३ मूर्ती बनाएका छन् । उनका अन्य ३ मूर्तीहरुमा एकले सृष्टीको भाव बोकेको छ भने अर्कोले गढीको धार्मिक महत्वको सन्देश बोकेको छ । गढीको आफ्नै धार्मिक महत्व रहेकोले त्यसलाई मूर्तीमा उतारिएको उनको भनाई छ । उक्त मूर्तीमा धर्मसँगै बिज्ञानलाई पनि जोडीएको उनले बताए । उनले नै बनाएको अर्को मूर्तीले मानिसलाई जीवनमा कहिल्यै पनि हरेश नखानु भन्ने सन्देश दिएको छ । मानिसले जीवनमा जस्तै परिस्थिती आए पनि हरेश खान हुन्न भन्ने उनले आफ्नो कला मार्फत डुङ्गामा मूर्ती बनाएका छन् ।
अर्का मूर्तीकार राजन काफ्लेले गढीमा एउटा मूर्ती बनाएका छन् । उनले दुई वटा पातको आकारमा मूर्ती बनाएका छन् । जसले प्रकृती र अध्यात्मबीचको सम्बन्धलाई देखाउन खोजेको छ । माडी प्रकृतीको अनुपम उपहार भएको र गढीले आध्यात्मिक महत्व बोकेको कारण यि दुईलाई जोडेर मूर्ती निर्माण गरिएको उनले बताए । यस्तै सोही मूर्तीको अर्को पाटोलाई मुटुको आकार दिईएको छ । उक्त मूर्ती ४ फिट उचाई र ७ फिट लम्बाईमा निर्माण गरिएको छ । यि मूर्तीहरुले माडीको पर्यटन प्रवर्द्दनमा ठुलो सहयोग मिल्ने उनको विश्वास छ ।
गुल्मी घर भएका मूर्तीकार हरेराम अधिकारीले पनि गढीमा दुई वटा मूर्ती बनाएका छन् । जसमध्य एकमा ॠषीले ध्यान गरिरहेको बनाईएको छ । गढी क्षेत्रमा ॠषीहरुले तपस्या गरेको धार्मिक आस्था भएको कारण ॠषीको आकारमा मूर्ती बनाएको उनले बताए । ‘गढीसँग धेरै धार्मिक आस्थाहरु जोडीएको रहेछ उनले भने,’ गढीकै बाटो हुँदै ॠषीहरु हिंड्ने गरेको र यही तपस्या गर्ने गरेको कारण मैले त्यसैलाई मध्यानजर गर्दै यो मूर्ती बनाएको हुँ ।’ ६ फिट अक्लो उक्त मूर्ती बनाउन उनलाई ८ दिन लाग्यो । १८ दिनको कार्यशालामा ८ दिनमै ॠषीको मूर्ती तयार भएपछी उनले बाँकी समयमा अर्को मूर्ती पनि बनाए । उनले बाँकी समयलाई सदुपयोग गर्दै गढीलाई उपहार स्वरुप धार्मिक पुस्तकको अर्को मूर्ती बनाए ।
माडीको खरकट्टा घर भएकी पार्वती विकले शेषनाघको मूर्ती बनाएकी छिन् । जसमा ५ वटा नागहरु बनाईएको छ । गढी धार्मिक आस्थासँग जोडीएको भएकोले नै शेषनाघको मूर्ती बनाएको उनले सुनाईन् । उनिलाई उक्त मूर्ती तयार पार्न करिब १६ दिन लाग्यो । यस्तै अन्य मूर्तीकारहरुले पनि बिभिन्न सन्देश बोक्ने मूर्तीहरु बनाएका छन् ।
प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले माडीलाई मूर्तीहरुको केन्द्रको रुपमा बिकास गर्न पर्ने बताए । उनले गढीमा निर्माण गरिएको मूर्तीहरुले माडीकै पर्यटन प्रवर्द्दनमा टेवा पुग्ने विश्वस व्यक्त गरे । अहिले निर्माण गरिएको मूर्तीलाई विस्तार गर्दै लैजानु पर्नेमा उनले जोड दिए । भारतसँग सीमा जोडीएको स्थानमा निर्माण गरिएको मूर्तीहरुले सीमा रक्षाको लागि पनि सहयोग पुग्ने उनको अपेक्षा छ । नेपाल भ्रमण बर्ष २०२० मनाईरहदा माडीको पर्यटन बिकासले पनि नयाँ गती लिने उनको विश्वास छ ।
उनले माडीमा लुकेका र ओझेलमा परेका अन्य क्षेत्रहरुको पहिचान गर्न पनि जरुरी रहेको उनले बताए । ‘नेपाल भ्रमण वर्ष २०२०का लागि नेपाल सरकारले तोकेको एक सय गन्तव्य मध्य माडी पनि एउटा हो उनले भने’, माडी धेरै हिसाबले बिशेष छ, गढी सँगै लुकेका र ओझेलमा परेका अन्य यस्तै स्थानहरुको पहिचान गर्न पर्छ ।’ उनले माडीलाई प्रदेश सरकारले सधैं प्राथमिकतामा राख्ने गरेको बताउदै यहाँको बिकासको लागि सधैं तत्पर रहने बताए ।
उनले माडीमा २४सै घण्टा पर्यटक भित्र्याउनका लागि चितवन राष्ट्रिय निकुन्जबाट २४ घण्टा नै सवारीसाधन आवतजावतको व्यवस्था मिलाउने बारे छलफल भईरहेको जानकारी दिए । यस्तै पछील्लो समय उत्सर्गमा पुगेको सीमा विवादको बिषयमा बोल्दै उनले नेपालको भूभागमाथि भएको अतिक्रमण नसहने बताए । उनले माडीको सोमेश्वर पनि भारतसँगको सीमामा रहेको यहाँका जनताहरुलाई सजग रहन उनले आग्रह गरे ।
माडीमा पर्यटन भित्र्याउने उद्देश्यको साथमा गढीमा देशभरका चर्चित कलाकारहरु ल्याएर मूर्ती निर्माण गरिएको नगर प्रमुख ठाकुर प्रसाद ढकालले बताए । माडीलाई देशकै मुख्य पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्ने योजनामा नगरपालिका रहेको र सोमेश्वरगढीलाई अहिले प्राथमिकतामा राखिएको ढकालले बताए । लामो धार्मिक ईतिहास बोकेको सोमेश्वर कालिकाको मन्दिरमा पर्यटक भित्र्याउने योजना रहेको उनले सुनाए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका ३३ जना कलाकारहरुको १८ दिनको मेहेनतबाट बनेको आकार्षक मूर्तीहरुले पर्यटकहरुलाई माडीसम्म तान्ने कुरामा ढकाल विश्वस्त छन् । गढीमा निर्माण गरिएको ५० भन्दा बढी मूर्तीहरुको आ-आफ्नै महत्व र बिशेषता रहेको उनले बताए । सोमेश्वरलाई कलाको फुलबारीको रुपमा बिकास गर्ने उद्देश्यका साथ ति मूर्तीहरु बनाईएको उनको भनाई छ । मूर्तीको उचित व्यवस्थापनको लागि नगरपालिकाले तारबार गर्ने उनले जानकारी दिए । माडीमा पर्यटक भित्र्याउन सके जनताको जीवनस्तर पनि उकासिने उनको विश्वास छ । माडीको भविष्य पर्यटनमै रहेको उनको भनाई छ । गढीको विकासका लागि १ अर्ब ९ करोड रुपैयाँ खर्च हुनेगरी डीपीआर तयार भैरहेको पनि उनले बताए ।
माडीनगरपालिका ५ का अध्यक्ष रामबन्धु पोख्रेलले कृषि र पर्यटन नै माडी क्षेत्रको बिकासको मुख्य आधार भएको बताए । कृषि क्षेत्रलाई नगरपालिकाले महत्वको साथ अघी बढाईरहेको बेला पर्यटनलाई पनि सँग सँगै लैजाने योजनाको साथ गढीमा मूर्ती निर्माण गरिएको उनको भनाई छ । यसले माडीको पर्यटन प्रवर्द्दनमा टेवा पुग्नेले आफु विश्वस्त रहेको उनले बताए । भारतसँगको सीमा सँगै रहेको गढीमा नेपालको राष्ट्रियता झल्कने मूर्तीहरु निर्माण गरिएकोले सेमा क्षेत्र रक्षाको लागि पनि सहयोग पुग्ने उनको विश्वस छ ।
मूर्ती निर्माणका लागि आएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्ती बिभागका प्रमुख लालकाजी लामाले सम्भाव्यता अध्ययन गरेर नै मूर्ती निर्माण गरिएको बताए । देशभरका चर्चित कलाकारहरु एकै ठाउँमा भेला भई गढीलाई मूर्तीहरु संग्रहालय बनाएको उनले बताए । गढीमा १७ फिट अग्लो, ९ फिट चौडाइ र ४ फिट गहिराइको देखि ३ फिटसम्मको ढुङ्गाहरुमा कलाकारहरुले मूर्ती बनाएको उनले जानकारी दिए ।
(तस्बिर : प्रेम प्रसाद सापकोटा /एटुजेड समाचार)