काठमाडौं – आइतबार बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस प्रहरीले फेला पारेको छ । बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएका हुन ।
बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिएको थियो ।
जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृत्यु भएपछि प्रहरीले दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानका आधारमा डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको परिसरका प्रवक्ता होमिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएपनि बस चालकले सो कुरा स्वीकार गरेका छैनन् । प्रहरीले गाडी र चालकमाथि अनुसन्धान जारी रहेको बताए । काठमाडौं–रामेछाप रुटको उक्त गाडी पुरानो बसपार्कबाट रामेछापका लागि बिहान हिँडेको थियो ।