बागलुङ – चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले ब्याट्रीबाट चलाउन सकिने मोटरसाइकल बनाएका छन् । उनले पुरानो मोटरसाइकलका विभिन्न पार्ट जोडेर बनाएको सवारी साधनलाई ‘इलेक्ट्रिक बाइक’ नाम दिएका छन् ।
बागलुङ नगरपालिका २ अदालत रोडका श्रेष्ठ कक्षा ९ मा अध्ययनरत छन् । उनले ४८ भोल्टको मोटर, ४ वटा लिड एसिड ब्याट्री, एउटा १२ भोल्टको ब्याट्री, २० एम्पियरको फ्युज, १ पिस कन्ट्रोलर, १ एक्सीलेरेटर र बाइकको पुरानो फ्रेम प्रयोग गरेका छन् । लामो समयदेखि युट्यूबमा हेर्ने गरेको र अहिले अथक अभ्यासपछि पेट्रोलबिनै चलाउन सकिने इलेक्ट्रिक बाइक निर्माण गरेको उनी बताउँछन् । गत साउनदेखि सुरु गरेको इलेक्ट्रिक बाइक बनाउने काम अहिले बल्ल सकिएको उनको भनाइ छ ।
‘धेरैपटक विफल भए तर मनमा सक्छु भन्ने एक किसिमको अठोट र विश्वास थियो’, गणेशले भने, ‘अन्ततः म प्रयास, सोच र योजनामा सफल भएको छु ।’ उनले निर्माण गरेको इलेक्ट्रिक बाइकको विद्यालय परिसरमा सयौं अभिभावक र विद्यार्थीका बीच गुडाएरै परीक्षण र प्रर्दशनीसमेत गरिएको थियो । अन्नपूर्ण पाेस्टमा खबर छ।