चितवन – अनेक षड्यन्त्र रचेर आवाज दबाउने सोच नराख्न चितवन मेडिकल कलेजलाई विद्यार्थीहरुले चेतावनी दिएका छन् । मेडिकल कलेजले उठाएको अबैध शुल्क फिर्ताको माग गर्दै आज भरतपुरमा आयोजित बिशाल र्याली तथा प्रदर्शनको क्रममा विद्यार्थीहरुले यस्तो चेतावनी दिएका हुन् ।
उनिहरुले मेडिकल माफियाहरुलाई अनेक षड्यन्त्र गरे विद्यार्थीहरुको संघर्ष तुवाउने सपना नदेख्न पनि चेतावनी छन् । आन्दोलनको अगुवाइ गरिरहेकी विद्यार्थी मान्यता थापाले सीएमसी प्रशासनले विद्यार्थीको आवाज जती दबाउन खोज्छ आफुहरुको आत्माबल त्यती नै बढ्दै जाने बताईन् । ‘मेडिकल माफियाहरुले अनेक षड्यन्त्र गरेर, कहिले दमन गरेर, कहिले विद्यार्थीमाथि लाट्ठी चार्ज गरेर हामीलाई दबाउन सक्छौ भन्ने सोचेका होलान् उनले भनिन् तर ति माफियाहरुले कान खोलेर सुने हुन्छ हामी विद्यार्थीहरुको मनोबल दिन २ गुणा रात ४ गुणा बढ्दै जानेछ ।’


विद्यार्थीमाथि षड्यन्त्र गर्ने मेडिकल माफियाहरुलाई त्यसै नछोड्ने पनि उनिहरुले चेतवानी दिएका छन् । न्यायका लागि धेरै लामो समय आन्दोलन गरिएको भन्दै विद्यार्थीहरुले अब वार कि पार गरेरै छोड्ने दाबी गरेका छन् । कलेज प्रशासनले जती सुकै षड्यन्त्र गरेर दमन गर्न खोजे पनि अब यस बिषयलाई वार कि पार गरेरै छोड्ने उनिहरुको दाबी छ ।
उनिहरुले मेडिकल माफियालाई कारबाही नगरेर सरकारले लाचारपन देखाउने हो भने अब जनताले कारबाही गर्ने चेतावनी दिएका छन् । अझै पनि कलेज प्रशासनले अबैध शुल्क फिर्ता गरे आन्दोलन अझै चर्काउने उनिहरुले चेतावनी दिएका छन् । उनिहरुले माग पुरा नभए सम्म आन्दोलन चर्काउने तर मेडिकल माफियाहरुलाई उन्मुक्ती नदिने बताएका छन् । कलेजले अनेक षड्यन्त्र गरेरै कुनै एक विद्यार्थीलाई कारबाही गर्न खोजे सारा चितवनबासीलाई सडकमा ल्याएर आन्दोलन गर्ने चेतावनी दिएका छन् । यस्तै उनिहरुले होस्टल भित्र बन्दुक भेटिएको भनेर प्रशासनले विद्यार्थीहरुलाई फसाउन खोजेको आरोप लगाएका छन् ।
चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइ तथा चितवन मेडिकल कलेजका विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनमा प्रदर्शनमा चितवनका बिभिन्न कलेज, बिद्यालय र अभिभावकहरु गरी हजारौको संख्यामा उपस्थिती रहेको थियो । बिरेन्द्र बहुमुखी क्याम्पसबाट निस्किएको बिरोध र्याली लायन्सचोक, सहिदचोकबाट क्याम्पसगेट हुँदै चौबिसकोठीमा गएर कोणसभामा परिणत भएको थियो ।
अबैध शुल्क फिर्ताको माग गर्दै ३ महिना देखी विद्यार्थीहरुले आन्दोलन गरिरहदा पनि मेडिकल कलेजले फिर्ता गरेको छैन । मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले १५ दिनभित्र बढी उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न १५ दिनको समय दिएको थियो । त्यो समय भोलि (सोमबार) सकिँदैछ।