चितवन – भरतपुर ५ मा रहेको चितवन मेडिकल कलेज (सीएमसी) को होस्टल भित्र सर्ट गन भेटिएको छ । आज (शनिबार) साझ जिल्ला प्रहरी कार्यालय चितवनले छापा मार्ने क्रममा होस्टलमा मेड इन युएसए लेखिएको सर्ट गन फेला परेको हो ।
होस्टेलको सुरक्षा गार्डले होस्टेल परिसरमा शंकास्पद गतिविधि देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भए पछी होस्टल पुगेर छापा मार्ने क्रममा सो सर्ट गन फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए ।
एमबीबीएसको अन्तिम सेमेस्टार सकाएपछि पनि नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द होस्टेलमा बस्दै आएको हुनाले सो सर्ट गन उनले ल्याएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । अनुसन्धान पछी मात्र थप विवरण आउने मल्लले बताए । होस्टेलका चार जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता डिएसपी एक नारायण कोइरालाले जानकारी दिए ।
चितवन मेडिकल कलेजले अबैध शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् । यसै क्रममा भोली विद्यार्थीहरुले बिशाल र्याली आयोजना गरेका छन् । उक्त आन्दोलनको नेतृत्व बिप्लवका छोरा प्रकाशले गरिरहेका छन् । त्यसको एक दिन अघी मात्र यो घटना भएको हो ।