सामाजिक सुरक्षा कार्यक्रम छोटो समयमै सफलता उन्मुख

अशोक घिमिरे,
काठमाडौं, मंसिर ३ – रणनीतिक महत्वका राजनीतिक कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयनमा अग्रसरता नदेखाउने प्रवृत्तिबीच योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम भने छोटो समयमै सफलता हासिल गर्ने ढङ्गबाट अगाडि बढेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले ‘नयाँ युगको शुरुवात’का रुपमा गत मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको थियो । सरकारले बढीभन्दा बढी श्रमिकलाई योजनामा सहभागी गराउन कार्यक्रम घोषणा भएको दिनदेखि नै रोजगारदातासँग छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।
छलफलका क्रममा तोकिएको समयभित्रै कोषमा सूचीकृत हुने रोजगारदाताका तर्फबाट व्यक्त प्रतिबद्धताले थप हौसला मिलेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली बताउँछन् । रोजगारदाता आबद्ध रहेका महासङ्घ, सङ्घ, उपभोक्ता सङ्घ सङ्गठन, वस्तुगत सङ्घलगायत छाता सङ्घसङ्गठनसँगको छलफलबाट प्राप्त केही गुनासोलाई मन्त्रीस्तरीय निर्णयबाट सम्बोधन गरिएको छ ।
मन्त्रालयको क्षेत्राधिकार बाहिरका गुनासालाई सम्बन्धित मन्त्रालय तथा मन्त्रिपरिषद्बाट टुङ्गो लगाउने गरी प्रक्रिया आगाडि बढेको छ । सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएको व्यावहारिक कठिनाइको हल तथा सहजीकरण गर्न सिङ्गो मन्त्रालय र सामाजिक सुरक्षा कोष लागि परेको छ ।
पहिलो सामाजिक सुरक्षा दिवससम्म झण्डै तीन लाखबढी श्रमिक र २५ हजार रोजगारदातालाई योजनामा सहभागी गराउने उद्देश्यका साथ कोष अगाडि बढेको छ ।छलफलमा सहभागी रोजगारदाताले सरकार, रोजगारदाता तथा श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको भन्दै सक्रियतापूर्वक सहभागी हुने पुनः प्रतिबद्धता व्यक्त गरेका छन् ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले वर्तमान सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन महासङ्घले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छन् । यस्तै प्रतिबद्धता परिसङ्घ, प्याब्सन, एनप्याब्सन, हिसानलगायत सङ्गठनबाट पनि आइरहेको छ ।
कतिपय छाता सङ्घ सङ्गठनले आफू मातहतका संस्थामा ‘सर्कुलर’ नै जारी गरी तत्काल कोषमा आबद्ध हुन र श्रमिकलाई सूचीकृत गराउन निर्देशन दिइसकेका छन् । उनीहरुले यही मङ्सिर पहिलो साताभित्र सम्पूर्ण श्रमिकलाई कोषमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएसँगै श्रमिक–मालिक सम्बन्धको दरार अन्त्यका साथै हार्दिकतापूर्ण वातावरण सिर्जना भएको छ । योजनाले असल श्रम सम्बन्ध विकासमा महत्वपूर्ण टेवा दिएको स्वयं रोजगारदाता र टे«ड युनियनका पदाधिकारी बताउँछन् ।
श्रमिक सूचीकृत
कोषमा हालसम्म १० हजार रोजगारदाता र एक लाख १० हजार श्रमिक सूचीकृत भइसकेका छन् । त्यस्तै करीब रु १५ करोड योगदान रकम सङ्कलन भइसकेको छ । यही मङ्सिर १४ गतेसम्म सूचीकरणका लागि समय थप गरिएको छ । सरकारले सामाजिक सुरक्षा योजनाको घोषणा गरेको मितिदेखि नै कोषमा सूचीकरणका लागि आह्वान गर्दै आएको थियो । यसबीचमा दुई पटक समय थप भएको थियो ।
पछिल्लो पटक थप भएको समयावधिभित्र सबै प्रतिष्ठान र आबद्ध श्रमिक कोषमा सूचीकृत हुने सरकारले विश्वास लिएको छ । सरकारले कार्यक्रम घोषणा भएको दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने घोषणा गरेको छ । सरकार, रोजगारदाता र श्रमिकको सहभागितामा दिवसलाई भव्यरुपमा मनाउन तयारी गरिएको छ ।
दिवसका अवसर पारेर आयोजना गरिने कार्यक्रममा कोषमा सूचीकृत भएर मृत्युवरण गर्न पुगेका दुई श्रमिकका आश्रित परिवारलाई सामाजिक सुरक्षा योजनाअन्तर्गत सहायता उपलब्ध गराइने बताइएको छ ।
योगदानकर्ताले एक करोडसम्म कर्जा पाउने
सामाजिक सुरक्षा कोषप्रति आकर्षण बढाउन र योजनामा सबै श्रमिकलाई समेट्न कोषले आकर्षक योजना ल्याउने घोषणा गरेको छ । योगदानकर्तालाई घर, शैक्षिक तथा सामाजिक कर्जा दिने कोषको तयारी छ । त्यस्ता कर्जा न्यूनतम् रु पाँच लाखदेखि रु एक करोडसम्म दिन प्रस्ताव गरिएको छ ।
कोषमा जम्मा भएको योगदान रकम मुद्दति निक्षेप, विभिन्न कम्पनीको शेयरमा लगानी, बैंक तथा वित्तीय संस्थासँग मिलेर सहवित्तीयकरणमा विभिन्न क्षेत्रमा लगानी गर्न सकिने व्यवस्थासहितको लगानी कार्यविधि निर्माण गरिएको छ ।
कोषले गरेको लगानीबाट प्राप्त मुनाफा योगदानकर्ताले नै पाउने छन् । ‘कोषले विभिन्न परियोजनामा लगानी गरेर आर्जन गरेको मुनाफाको हिस्सेदार योगदानकर्ता नै हुन्’, कोषको लगानी र आम्दानी पारदर्शी हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्दै कोषका कार्यकारी निर्देशक ज्ञवालीले भने ।
दुई श्रमिकका परिवार लाभान्वित
सामाजिक सुरक्षा योजनामा सहभागी हुन रोजगारदाता र श्रमिकले मन खुम्च्याइ रहँदा कोषमा योगदान गरेर मृत्यु भएका योगदानकर्ताको आश्रित परिवारले भने कोषबाट आर्थिक सहायता प्राप्त गर्न थालेका छन् ।
कोषमा योगदान आरम्भ गरेका एक निजी कम्पनीमा काम गर्ने इञ्जिनीयर रुपेन्द्र थापा तथा अर्को एक कम्पनीमा काम गर्ने प्रकाश तामाङ मोक्तानका आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गरेका हुन् । उनीहरुका परिवारले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत प्राप्त गर्ने अन्तिम दाहसंस्कार खर्च एकमुष्ठ प्रतिव्यक्ति रु २५ हजार सहायता प्राप्त गरिसकेका छन् । यसैगरी मासिक निवृत्तिभरणबापत थापाको आश्रित परिवारले आधारभूत पारिश्रमिकको ६० प्रतिशतहायता प्राप्त गरिसकेका छन् ।रासस
तपाइँको प्रतिक्रिया