‘बौलाहा काजीको सपना’नारायणी कला मन्दिरमा प्रदर्शन
मनिका विश्वकर्मा, चितवन,कात्तिक २३ – कक्षा ११ को नेपाली पाठ्यक्रममा आधारित नाटक ‘बौलाहा काजीको सपना’नारायणी कला मन्दिर चितवनमा प्रदर्शन गरिएको छ । सामाजिक तथा मनोवैज्ञानिक यर्थाथवादी नाटककार विजय मल्लको उक्त नाटक आज प्रदर्शन गरिएको हो । काठमाडौंका तत्सम आर्टस अर्जुन न्यौपानेको निर्देशनमा उक्त नाटक प्रर्दशन गरिएको थियो ।
कर्मी नाट्य समुह र ब्ल्याक चेरिजकाे सयुंक्त आयोजनामा सो नाटक देखाईएको हो । नाटकमा धनी र गरिब वर्गबीच रहेको असमान पक्ष र त्यसको मारमा निर्ममतापूर्वक पिल्सिएका गरिब वर्गको प्रतिनिधित्व गराइएको थियो । दिन–रात जोतिएर मिहिनेत गर्दा पनि एक छाक राम्ररी खान नपाइरहेका गरिब भरिया पात्रहरूको जीवनलाई यसमा प्रस्तुत गरिएको थियो । इमान्दरीपूर्वक मिहिनेत गरेर बाँचिरहेको भक्ते पात्रको छोरो वीरेले बाटोमा माग्दै हिँडेकोमा उसका बाबु भक्तेले रिसाएर लखेट्दै ल्याएको प्रसङ्गबाट नाटकको आरम्भ भई बहुलाकाजीको आदर्श कल्पनामा सफल बन्दै आएको वीरे अन्तमा गरिबीकै कारण उचित उपचार नपाएर मर्न पुगेको घटनासम्म नाटक टुङ्गिएको थियो ।
नाटकका मुख्य पात्र बहुलाकाजीका चिन्तन र विचारहरू परिवर्तित समाजको चाहना गर्ने वर्गविहीन समाजका चिन्तकहरूको साझा चिन्तन हो । यसैले नाटकको मूल उद्देश्य बोलेको छ । समाजको सबभन्दा ठूलो शत्रु गरिबी हो र त्यसलाई समाप्त नपारेसम्म यस संसारमा सुखी जीवन असम्भव रहेको भन्दै बौलाहा काजीले गरिबीलाई समाप्त पार्ने एक मात्र माध्यम शिक्षा रहेको भनी शिक्षित तुल्याई समाजबाट अभाव, अशिक्षा, गरिबी, असमानता आदि समाप्त पारी सुखी ,सुन्दर र सभ्य संसार बनाउने तर्फ लागेका हुन्छन ।
अधिकार मागेर पाइन्न खोसेर लिनुपर्छ भन्ने मान्यता पनि यस नाटकले बोकेको छ । नाटकका अन्तमा संवादबाट पनि यस कुराको पुष्टि हुन्छ । यसमा समाजमा व्याप्त वर्गविभेदको यथार्थ प्रस्तुत गरिएको थियो । बहुलाकाजीका माध्यमबाट वर्गविहीन समाजको निर्माणको सङ्केत गरिएको छ भने सामाजिक संरचनाभन्दा भिन्न चिन्तनका मानिसलाई सहजै रुपमा पागल सावित गरिदिने प्रवृत्तिको उदाहरण बहुलाकाजी पात्रकै माध्यमबाट देखाइएको थियो । नाटकमा ११ जना पात्रहरु सहभागी थिए । नाटक असोज १९ गतेबाट सुरु भई कात्तिक २५ गते समापन गरिन्छ ।
तपाइँको प्रतिक्रिया