आजको सम्पादकीयः बल्झिरहने सीमा विवाददेखि अनौपचारिक वित्तीय कारोबार नियन्त्रणका चुनौतीसम्म

काठमाडौं, कार्तिक २० – आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले बिचौलीयाका कारण किसानलाई परेको मर्का र नेपालको भूमि कालापानी, वित्तीय चुनौती र नेपालको लिपुलेकलाई भारतले आफ्नो पार्दै नयाँ नक्सा जारी गरेको विषयमा सम्पादकीय लेखेका छन् ।
कान्तिपुर दैनिकले पनि व्यापारीले तोक्ने मूल्यका कारण किसान परेको मर्काप्रति सरकारको ध्यानाकर्षण गराएको छ । कृषि उपजमा न्यूनतम समर्थन मूल्य तोक्ने र त्यो मूल्य दिलाउने सरकारको दायित्व भएको उल्लेख गर्दै उसले सम्पादकीयमा भनेको छ – सरकाले समर्थन मूल्य तोकिदिएर मात्र उसको दायित्व पूरा हुँदैन । उसको कर्तव्य किसानलाई उक्त मूल्य दिलाउनु हो ।
त्यसैगरी कृषिजन्य उपजको न्यूनतम समर्थन मूल्यमै सरकारी संस्थानले सीधै किसानबाट खरिद गरेर विचौलियालाई निरुत्साहित गर्नुपर्ने विषयलाई महत्व दिँदै नागरिक दैनिकले ‘बिचौलियामुक्त व्यवस्था’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा खाद्यले धान खरिदमा बिचौलियाको प्रयोग हटाउने हो भने खरिद गर्ने जिल्लाका धेरै स्थानमा खरिद केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिइएको छ ।



अन्नपूर्ण पोष्टले नेपालको भूमि कालापानी र लिपुलेकलाई भारतले आफ्नो पार्दै नयाँ नक्सा जारी गरेको विषयमा सरकारले कडा कूटनीतिक प्रतिवाद गर्नुपर्नेमा जोड दिएको छ । ‘नक्सा सच्याउन कूटनीतिक पहल’ भन्ने शीर्षकमा सम्पादकीय लेख्दै अन्नपूर्णले भनेको छ – अन्तर्राष्ट्रिय सीमाना रक्षाका लागि प्रतिबद्ध भएर भारतले गरेको उक्त कदममाथि कडा प्रतिवाद गर्नुपर्छ । दुई ठूला शक्तिको बीचमा रहेको नेपालका कूटनीतिज्ञहरु चनाखो बन्न आवश्यक छ ।
त्यस्तै नेपाल–भारत सीमाबारे प्रश्न उठेको समयमा नेपाल सरकारले उत्तेजनामा नआईकनै भारतीय पक्षसँग कूटनीतिक पलह गर्नुपर्नेमा जोड दिँदै आजको नयाँ पत्रिकाले ‘बल्झिरहने विवाद’ शीर्षकमा सम्पादकीय लेखेको छ । उसले सम्पादकीयमा भनेको छ –नेपाल–भारत सीमा विवाद समाधान गर्न गठित कार्यदलमार्फत नै सीमा विवादलाई सम्मानजनक ढंगले इतिहासका अभिलेखका आधारमा समाधान गर्नुपर्ने सुझाव दिएको छ ।
गोरखापत्र दैनिकले ‘सराहनीय कदम’ शीर्षकमा नेपालले गर्भवती, सुत्केरी तथा नवजात शिशु सुरक्षाका लागि विभिन्न पहल गर्दै आएको र सोही अनुरुप प्रगति भइरहेको बताएको छ । जोखीम महिलालाई उद्धार गरेको सुरक्षित र गुणस्तरीय सेवा पु¥याउन पहल भएको भन्दै त्यस्ता कार्यको सरहना गरेको गर्दै सम्पादीय लेखेको छ ।
जलवायु परिवर्तनले आम मानिसको जीवनमा असर पु¥याउन थालेको विषयलाई लिएर नेपाल समाचारपत्रले ‘वातावरण संरक्षणमा सचेत रहौ’ भन्दै आफ्नो सम्पादकीय छापेको छ । सम्पादकीयमा वातावरण संरक्षण नगरी विकास निर्माण गर्दा यसको दीर्घकालिन असरपर्नेतर्फ सचेत गराउँदै हरेक स्थानीयदेखि केन्द्रस्तरका सरकारले यस विषयमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
त्यसैगरी अर्थतन्त्रलाई प्राथमिकता दिएर प्रकाशित हुने दैनिकले वित्तीय क्षेत्रमा देखिएका चुनौति एवं सरकारी आयका विषयमा आज सम्पादकीय लेखेका छन् । आज प्रकाशित आर्थिक अभियानले ‘राजस्व लक्ष्य नभेटिनुको अर्थ’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा मुलुकमा संघीय संरचनामा जाँदा सरकारी खर्च बढेको र राजस्व बढाउने दबाब सरकारमाथि परेको उल्लेख गरिएको छ ।
त्यस्तै आजको कारोबार दैनिकले ‘अनौपचारिक वित्तीय कारोबार नियन्त्रणका चुनौती’ शीर्षकमा सम्पादकीय लेख्दै चाडवाडका समयमा प्राप्त जुवाखालबाट बरामद भएको विषयले अर्थतन्त्रमा गर्ने संकेत गरेको छ । सरकारले एकीकृत वित्तीय कारोबार नीति बनाएर अनौपचारिक वित्तीय कारोबारलाई रोक्नुपर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएको छ ।
तपाइँको प्रतिक्रिया