‘विवादित’ नक्साबारे भारतमै सुरु भयो आरोप–प्रत्यारोप

एजेन्सी, कात्तिक २० – भारतको केन्द्र सरकारले भर्खरै देशको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । नक्सा मुख्यतः नयाँ गठित जम्मू तथा कश्मीर युनियन टेरिटोरी र लद्दाख युनियन टेरिटोरीको भूभाग स्पष्ट गर्न सार्वजनिक गरिएको हो ।नक्सालाई पाकिस्तान सरकारले अस्वीकार गर्ने बताएको छ ।
त्यस्तै उक्त नक्सामा नेपालको सानो भू–भाग भारतमा पारिएको विषयलाई लिएर नेपालमा पनि भारतको विरोध भइरहेको छ । तर नक्सामा प्रदेशको राजधानी नै उल्लेख नभएका कुरालाई लिएर भारतकै दक्षिणी राज्य आन्द्र प्रदेशका विभिन्न दलबीच आरोप प्रत्यारोप सुरु भएको छ ।
आन्द्र प्रदेशमा सरकार चलाइरहेको वाईएसआर कंग्रेस पार्टीले पहिलेदेखि टीडीपी पार्टीको अघिल्लो सरकारले दिल्लीलाई राजधानीबारे सूचित नगराएको आरोप लगाउँदै आएको थियो । हाल सार्वजनिक नयाँ राजनीतिक नक्सामा राज्यको राजधानी हैदरावादलाई नै देखाइएपछि उनीहरुले आफ्नो दावी सही रहेको बताउन थालेका छन् ।



हैदराबाद विगतमा एकीकृत आन्द्र–प्रदेशको राजधानी थियो । हैदराबाद आन्द्र प्रदेशबाट छुट्टिएको तेलांगाना राज्य भित्र पर्छ । आन्द्र प्रदेश पुनरगठन विधानले हैदरावादलाई १० वर्षसम्म दुवै राज्यको साझा राजधानी रहने व्यवस्था गरेको छ । सर्वे अफ इण्डियाले प्रकाशित गरेको नक्सामा ‘आन्द्र प्रदेश र तेलगांनाको प्रशासनिक राजधानी हैदराबाद’ उल्लेख छ ।
तथापि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैले अमरावतीलाई आन्द्र प्रदेशको राजधानीको रुपमा समुद्घाटन गरेका थिए । अहिले समाजिक संजाल प्रयोगकर्ताहरुले देशको प्रधानमन्त्रीले उद्घाटन गरेपछि पनि अमरावतीलाई राज्यको राजधानीको दर्जा नदिइएको प्रति आश्चर्य व्यक्त गरेका छन् ।
दुई महिना अघि मात्रै पनि राज्यका शहरी मन्त्री बोच सत्यनारायणले अघिल्लो प्रदेश सरकारले अमरावतीलाई राज्यको राजधानी मानेको भनेर कुनै राजपत्र ननिकालेको दावी गरेका थिए । तर टीडीपीका एक विधायक ए. सत्यप्रसादले सन् २०१४ डिसेम्बर ३० मा प्रकाशित राजपत्रले राज्यको स्थायी राजधानीबारे सुचना प्रकाशित भएको दावी गरे ।टीपीडीका नेता तथा पूर्व मन्त्री वाई. रामाकृष्णुदुले राजपत्रमा सूचना प्रकाशित नभएको भए वर्तमान सरकार किन अमरावतीमा बसिरहेको भन्ने प्रश्न गरे ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया