माडीको सोमेश्वरमा राष्ट्रिय मूर्ति कार्याशाला हुने

चितवन, कार्तिक १९ – माडीको सोमेश्वर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि कार्तिक २३ गते राष्ट्रिय प्रस्तर मूर्ति कार्याशाला आयोजना भएको छ । सुन्दर कलाको ऐतिहासिक सोमेश्वरगढी, इको,कृषि र पर्यटनको गन्तव्य नगरी, माडी राष्ट्रिय प्रस्तर मूर्ति कार्याशाला–२०७६ नाम दिइएको सो कार्यशालामा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा आवद्ध ३० जना मूर्तिकारहरुले मूर्तिहरु निर्माण गर्नेछन् ।
उनिहरुले सोमेश्वर क्षेत्रमै आवासीय रुपमा १८ दिनसम्म रही विभिन्न प्रकारका प्रस्तर मूर्तिहरु निर्माण गर्नेछन् ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुने सो कार्यशालाको तयारीको लागि नगर प्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतमा १९ सदस्यीय कार्यशाला मूल स्टेयरिङ्ग समिति गठन भएको छ ।
त्यस्तै नगरपालिका सूचना प्रविधि अधिकृत प्रवीण भण्डारीको संयोजकत्वमा ७ सदस्यीय प्रसार प्रसार उपसमिति, पिताम्बर पोख्रेलको संयोजकत्वमा ९ सदस्यीय आवास तथा खाद्य व्यवस्थापन उपसमिति र नगरपालिकाको जनस्वास्थ्य शाखाका उपप्रमुख गोविन्द पौडेलको संयोजकत्वमा स्वास्थ्य उपसमिति समेत गठन भएको छ ।



तपाइँको प्रतिक्रिया