ढिलोचाँडो फेरि प्रधानमन्त्री बन्छु : प्रचण्ड

बाँके, कात्तिक १९ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् । मंगलबार नेपालगञ्जमा उद्योग बाणिज्य संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
सो कार्यक्रममा उनले नेपालगञ्जमा क्षेत्रीय विमानस्थल बनाउन पनि आफूले सक्दो पहल गर्ने बताए ।‘नेपालगञ्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउनुपर्छ भन्ने तपाईँहरुको माग जायज छ । यसमा मेरो पूर्ण समर्थन र पहल हुनेछ,’ अध्यक्ष प्रचण्डले हिल्सा–सुर्खेत रोड ठूलो बनाउन चीनसँग समेत कुरा भएको भन्दै उत्तर दक्षिण सडकमार्ग जोड्न सके नेपालगञ्जको विकासमा ठूलो परिवर्तन आउने बताए ।
उनले नेपालगञ्ज–दिल्ली एयर रुट बनाउन पहल र नेपालगञ्जलाई उपमहानगरबाट महानगर बनाउन आफ्नो प्रयास हुने आश्वासन दिए । यसअघि नेपालगञ्जमा औद्योगिक क्षेत्रका रुपमा विकास गर्न तथा प्रदर्शनी केन्द्र बनाउन आफैँले छुट्याएको १० विगाहा जमिन खारेज भएको घटनाले आफूलाई आश्चर्यमा पारेका समेत प्रचण्डले बताए ।



उनले आफू काठमाडौ फर्केलगत्तै यसबारे प्रधानमन्त्रीसँग कुरा गरेर निर्णय सच्याउन लगाउने पनि बताए ।सो अवसरमा नेपाल उद्योग बाणिज्य संघले प्रचण्डसमक्ष नेपालगञ्जको विकासका लागि सात बँुदे मागपत्र बुझाएको छ। मागहरुबारे प्रचण्डले आफू ढिलोचाँडो प्रधानमन्त्री बन्ने र त्यसपछि ती सवै माग पूरा गर्ने समेत बताए ।
तपाइँको प्रतिक्रिया