घाइतेको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह
काभ्रे,कात्तिक १८ – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
देउवाले सोमवार बिहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउँदै नआत्तिन आग्रह गरे । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे ।
सो अस्पतालमा सुकुटे दुर्घटनाका करीब ४० जना घाइते उपचाररत छन् । सभापति देउवासँगै पूर्वमन्त्री एवं कांग्रेसका नेता मोहनबहादुर बस्नेतलगायत स्थानीय नेताहरु अस्पताल पुगेका थिए ।
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतवार भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने दर्जनौं यात्रु घाइते भएका थिए । दोलखाको मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा उक्त दुर्घटना भएको थियो ।
तपाइँको प्रतिक्रिया