चन्दा सङ्कलन गरेर मन्दिर पुनर्निर्माण

दमौली,कात्तिक ११ – जिल्लाको म्याग्दे गाउँपालिका–५ मूलाबारीस्थित कालाभैरव मन्दिर चन्दा सहयोगबाट पुनर्निर्माण गरिएको छ । विदेशमा रहेका नेपालीबाट सङ्कलन भएको रकमबाट जीर्ण अवस्थामा रहेको ऐतिहासिक मन्दिरको पुनर्निर्माण गरिएको हो । देश तथा विदेशबाट सङ्कलन भएको रु ४५ लाखको लागतमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको कालाभैरव मन्दिर निर्माण समितिका अध्यक्ष वसन्त आलेले जानकारी दिए ।
आलेका अनुसार मन्दिर पुनर्निर्माणका लागि बेलायत, अमेरिका, हङकङ, साउदी अरब, कतार लगायतका देशबाट गरी रु ४० लाख सङ्कलन भएको थियो । मूलाबारी घर भएर विदेशमा रहेकाहरुबाट मात्रै रु ३० लाख सङ्कलन भएको आलेले जानकारी दिए । उक्त रकमबाट मन्दिरको पुनर्निर्माणका साथै प्रतीक्षालय र शौचालय निर्माण गरिएको छ । “मन्दिरको पुनर्निर्माणका लागि चन्दाबाटै राम्रो रकम सङ्कलन गर्न सफल भयौँ,” आलेले भन्नुभयो, “रकम सङ्कलनका लागि मूलाबारी घर भएर हाल विदेशमा रहेका दाजुभाइबाट राम्रो भूमिका पायौँ ।” विसं २०७३ फागुनबाट मन्दिरको पुनर्निर्माण शुरु गरिएको थियो ।
यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित गुरुयोजना निर्माण गरिएको आलेले जानकारी दिए । “प्रचारप्रसारको अभावमा यस ठाउँ ओझेलमा परेको छ,” आलेले भने, “धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै यस ठाउँलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन कम्मर कसेर लागिपरेका छौँ ।” दुई रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर वरपर गुरुयोजनाअनुसारका संरचना निर्माणका लागि रु एक करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । लगानी जुटेको दुई वर्षभित्र गुरुयोजनाअनुसारको संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।



“अहिलेसम्म चन्दाबाटै सबै काम गर्दै आएका छौँ,” आलेले भने, “गुरुयोजना अनुसारको संरचनाका लागि भने स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गर्छौं ।” मन्दिरभन्दा ७०० मिटर तल कुवाबाट लिफ्टिङ गरी खानेपानी व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारसँग माग गरिएको र यसै क्षेत्रबाट प्रदेशसभामा निर्वाचित आशा कोइरालाले खानेपानी व्यवस्थापनका लागि प्रतिबद्धता जनाएको आलेले जानकारी दिए । साथै मन्दिरले ओगटेको सबै क्षेत्रफलमा रेलिङ निर्माण गर्ने तयारी गरिएको छ ।
मन्दिरको पुनर्निर्माणका लागि बेलायतबाट सबैभन्दा बढी रु १५ लाख सङ्कलन भएको थियो । बेलायतमा तुल थापा, मोहन थापा, सरला थापालगायतको नेतृत्वमा रकम सङ्कलन भएको थियो । मूलाबारीलाई धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पुनर्निर्माण थालिएको मन्दिरका लागि बेलायतमा सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको स्थानीयवासी एवं हाल बेलायतमा रहनुभएका तुल थापाले जानकारी दिए । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिकाको धयरेबाट १२ किमी, थर्पुबाट आठ किमी र भिमाद नगरपालिकातर्फबाट सात किमी दूरीमा उक्त मन्दिर अवस्थित छ । मन्दिरको प्रचारप्रसारका लागि समितिले गत वर्षदेखि कालाभैरव दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।
बाइसे चौबिसे राजाको पालादेखि यस मन्दिरमा पूजाआजा हुँदै आएको स्थानीयवासी बताउँछन् । यस मन्दिरमा एकादशी र औँशी बाहेकका दिनमा पूजाआजा हुँदै आएको छ भने रामनवमी र विजयादशमीको बेला भने यहाँ ठूलो मेला लाग्ने गरेको छ । यहाँबाट मनोरम हिमशृङ्खलाका साथै भिमाद, थर्पु, खैरेनी लगायतका बजारको दृश्यावलोकन गर्न सकिन्छ । कोलाहलयुक्त वातावरणबाट शान्त वातावरणमा रमाउन चाहनेहरुका लागि यस ठाउँ उपयुक्त गन्तव्यका रूपमा विकास हुन सक्ने विश्वास लिइएको छ ।
वनमा थापिएको खोरमा परेर चितुवा नियन्त्रणमा तनहुँको भानु नगरपालिकास्थित विभिन्न वडामा चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान थालेपछि स्थानीयवासीले चितुवा नियन्त्रणका लागि बनाएको खोरमा आज बिहान एक चितुवा परेको छ । डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट पाँच बालबालिकाको मृत्यु भएपछि स्थानीयवासीले भानु नगरपालिका–३ स्थित देउराली सामुदायिक वनमा बनाएको खोरमा बिहान चितुवा नियन्त्रणमा आएको हो । भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले आहारासहित राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको जानकारी दिए । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले खोरमा परेको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जको जिम्मामा छाडिएको जानकारी दिए । उप्रेतीका अनुसार भाले जातको उक्त चितुवा करीब आठ÷दश वर्ष उमेरको छ । “बाख्रासहित राखिएको परम्परागत काठको खोरमा परेर नियन्त्रणमा आएको चितुवालाई आज नै राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको छ,” उप्रेतीले भने, “बालबालिकालाई आक्रमण गर्ने चितुवा सोही चितुवा हो कि होइन भन्ने यकिन भएको छैन ।”
भानु नगरपालिकामा करीब १२÷१३ वटा चितुवा रहेको अनुमान गरिएको छ । चितुवा नियन्त्रणका लागि नौ वटा परम्परागत खोर निर्माण भइरहेको छ । जसमध्ये चार वटा खोर निर्माण सम्पन्न भइसकेको छ भने पाँच वटा खोर निर्माणको चरणमा छ । बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि विगत केही समयदेखि प्रयास हुँदै आएको छ । सोही बमोजिम भानु नगरपालिकाका विभिन्न वडामा काठको खोर निर्माण गरिएको छ । गत असोज १६ गते भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा पनि एउटा चितुवा नियन्त्रणमा आएको थियो । चितुवा नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी लगायतको टोली पनि खटिएको छ । रासस
तपाइँको प्रतिक्रिया