प्रथम राप्ती महोत्सव नगरको सम्बृद्धिमा फड्को मार्न सफल,महोत्सव आज पनि जारी
राप्ती,कात्तिक १० – राप्ती नगरपालिका र राप्ती उद्योग बाणिज्य संघले आयोजना गरेको प्रथम राप्ती महोत्सवको समापन गरिएको छ । शनिबार प्रदेश नं ३ को मुख्यमन्त्री डोरमणी पौडेलको उपस्थितिमा महोत्सवको समापन गरिएको हो । औपचारिक समापन समारोह शनिबार गरिए पनि महोत्सव आज पनि जारी भएको छ ।
समापन समारोहमा बोल्दै पौडेलले महोत्सवमा ठुलो आर्थिक गतिविधि हुने भएकाले स्थानिय तथा राष्टिय स्तरमा आर्थिक सम्बृद्धिमा टेवा पुग्ने बताए । उनले सुखी नेपाली सम्बृद्ध नेपाल बनाउन यस्ता गतिविधिले सहयोग पुग्ने बताए । महोत्सवमा राखिने विभिन्न बिदेशी खेल तथा बाल उद्यानले भने पैसा बिदेशमै जाने भएकाले नेपाली कार्यक्रममा त्यस्तो गतिविधिलाई निरुत्साहित गरिनुपर्ने उनले धाराणा राखे । प्रदेश नं. ३ का भुमि, ब्यवस्था तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाले स्थानिय उत्पादन र ब्यवसायलाई महोत्सवले प्रबद्र्धन गरेको बताए । उनले कृषि, पर्यटन लगायत क्षेत्रमा यस्ता गतिविधिको महत्वपुर्ण भुमिका हुने बताउदै नगर सम्बृद्धिका लागि विभिन्न आर्थिक गतिविधिमा जोड दिनुपर्ने बताए । त्यस्तै प्रदेश सांसद कञ्चन खनालले पनि नगरको आर्थिक सम्बृद्धि तथा पर्यटकिय प्रबद्र्धनका लागि महोत्सवले दिर्घकालीन योगदान दिएको बताइन ।
राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले पहिलो महोत्सव भएका कारण केहि कमिकमजोरी महसुस गरेको बताउदै नगरको सम्बृद्धिमा फड्को मार्न सफल भएको बताइन । उनले आर्थिक, समाजिक, पर्यटकिय हिसाबले नगर उन्नतितर्फ अघि बढिरहेको सन्देश महोत्सवले दिएको दाबी गरिन् । कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार जेएन थपलिया, नेपाल कम्युनिष्ट पार्टि चितवनका नेता घनश्याम कँडेल, नेपाली काँग्रेस चितवनका सहसचिव सुर्य अर्याल लगायतले महोत्सवले आर्थिक क्रान्ति सिर्जना गर्न सफल भएको बताए । महोत्सव मुल समारोह समितिका संयोजक राजकुमार कँडेलले विभिन्न चुनौतिका बीच महोत्सव सफल भएका बताए । महोत्सवले समग्र चितवनको कृषि, पर्यटन र ब्यापारको प्रबद्र्धनमा उल्लेख्य भुमिका खेलेको उनको दाबी छ ।
समापन समारोहमा राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामा, पुर्वसभासद गोविन्दराम चेपागं, उद्योग बाणिज्य महासंघ ३ नं प्रदेशका कोषाध्यक्ष ज्ञान बहादुर बिसुराललगायत विभिन्न जनप्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा महोत्सव अवधिभर आयोजित विभिन्न प्रतियोगिताका विजेताहरु तथा सहयोगीहरुलाई पुरस्कार तथा सम्मान पत्र दिइएको थियो ।
१० दिन चलेको महोत्सवमा झन्डै एक लाख दर्शकले अवलोकन गरेको महोत्सव प्रवद्र्धन समितिका संयोजक दिनेश सेढाईले जानकारी दिए । हरेक दिन उल्लेख्य दर्शक रहेको महोत्सवमा सेल्फि जोन, विविध साँस्कृतिक घरहरु, बाल उद्यान, विभिन्न व्यवसायिक स्टलहरु दर्शकको रोजाईमा परेको थियो । महोत्सवमा दर्जनौ चर्चित राष्टिय कलाकारहरुले प्रस्तुति दिएका थिए । शनिबार गायक कमल खत्री तथा गायिका सिर्जना खत्रीले प्रस्तुति दिएका थिए । महोत्सवको आर्थिक गतिविधि तथा आम्दानी खर्चहरु पारदर्शी ढंगले केहि दिनपछि सार्वजनिक गरिने आर्थिक समिति संयोजक मार्कन्डेय गौतमले बताए ।
यसैबीच महोत्सवको औपचारिक समापन गरिएपनि साँगितिक कार्यक्रम भने आज पनि जारी भएको छ । दर्शकको माग र चाहनाअनुसार आज पनि मनोरञ्जनात्क कार्यक्रम जारी रहने साँस्कृतिक कार्यक्रम संयोजक प्रदिप उप्रेतीले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया