भरतपुर ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा

चितवन, कार्तिक ९ – भरतपुर महानगरपालिका आज बाट सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा भएको छ । मानव सेवा आश्रमको सहयोगमा महानगरले प्रभावकारी रूपमा गृहकार्य गरी महानगर घोषणा गरेको हो ।
महानगर परिसरमा जारी भव्य समारोहमा कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका थिए । मन्त्री पौडेलले भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरे । नारायणगढको क्याम्पाचौरबाट निस्किएको र्याली महानगर कार्यालयमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो । मानव सेवा आश्रमको सहयोगमा यसअघि गोरखा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, बुटवलको सिद्धबाबाधाम क्षेत्र र काठमाडौँको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । घोषणासँगै भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त नेपालको पहिलो महानगर बनेको छ ।
सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा संचालन गरिएको थियो । यस क्रममा अहिलेसम्म ३०० जनालाई उद्धार गरिएको महानगरले जनाएको छ ।



उनीहरुमध्ये जम्मा आठ जना मात्रै वास्तविक अभिभावकविहीन रहेको पाइएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। अन्य मादक पदार्थ सेवन गरेर बस्ने, थोरै रकममा श्रम गर्ने, रोजगारीका लागि सदरमुकाम आएका, फिरन्ते र मगन्ते रहने गरेका छन् । २०७१ सालदेखि चितवनको सडकमा सहयोगापेक्षी सडकमानव मुक्त बनाउने अभियान शुरु गरेको यस संस्थाले हालसम्म ५०० जनाको उद्धार गरेको जनाएको छ ।
महानगरप्रमुख रेनु दाहालले महानगरको क्षेत्र ठूलो भएकाले शहरदेखि गाउँसम्म यो अभियान सुरु गरिएको बताइन् । उनले मानवताका हिसाबले कुनै पनि नागरिक भीख मागेर बस्नु कलङ्कको विषय भएको भन्दै भरतपुरमा कोही पनि नागरिक गास, बास र कपासका लागि भौँतारिने अवस्थाको सदाका लागि अन्त्य गर्ने अभियान अन्तर्गत यस्तो कार्यक्रम गरिएको बताईन ।
तपाइँको प्रतिक्रिया