डब्लुसीलः उपाधि होडमा चितवन र काठमाडौं

कात्तिक ७,काठमाडौं । महिलाको फ्रेन्चाइज क्रिकेट वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) क्रिकेटको फाइनल आज (बिहीबार) हुँदैछ । नेपालमा पहिलो पटक आयोजना भएको महिला क्रिकेट लिगको उपाधिका लागि क्याट क्विन्स काठमाडौं र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । त्रिबि क्रिकेट मैदानमा हुने फाइनल खेल बिहान ११ः३० मा सुरु हुनेछ ।
आजको फाइनल खेलमा जित निकाल्दै पहिलो संस्करणको प्रतियोगितामा आफुलाई च्याम्पियन बनाउने दाउमा दुबै टोली रहनेछन् । नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा मैदान उत्रदा काठमाडौं पहिलो खेलमा चितवनविरुद्ध भएको हारको बदला लिने योजनामा हुनेछ ।
काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो । यता राष्ट्रिय टोलीका सदस्य इन्दु बर्माको कप्तानीमा रहेको चितवन काठमाडौंलाई दोस्रो पटक पराजित गर्दै उपाधि उचाल्ने योजनामा छ । समूह चरणका खेलहरुमा चितवन अपराजित रहँदै सिधै फाइनलमा प्रवेश गरेको थियो । काठमाडौं भने विराटनगरलाई हराँउदै फाइनलमा स्थान बनाएको थियो ।



प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीको स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।
तपाइँको प्रतिक्रिया